
काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा देवनागरी दिवस आयोजना गरेको छ । काठमाडौं उपत्यकाका १८ विद्यालयहरुका शिक्षक र विद्यार्थीहरुको सहभागितामा देवनागरी दिवस मनाइएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा संस्कृत श्लोकवाचन, नेपाली–हिंदी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरुमा आ-आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।
अन्तरविद्यालय प्रतिस्पर्धाहरुमा डीएभी अप्रतिस्पर्धी रहेपनि डीएभी आबद्ध विद्यार्थीहरुले संस्कृत, नेपाली र हिंदी लगायत विभिन्न मातृभाषाका साहित्य, सस्कृति, कला र रितीरिवाज झल्काउने नृत्य एवं कलाकौशलता प्रर्दशन गरेका थिए ।
डीएभी विद्यार्थीहरु प्रस्तुत भएका संस्कृत स्वागत गित, नवरस झल्किने थेमेटीक शिवताण्डब, थारु भाषा र संस्कृतिको मघौंटा नाँच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अङग्रेजी माध्यम विद्यालय भएपनि स्थापनाकालदेखि देवनागरी भाषाहरु अध्ययन–अध्यापन भइरहेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछानेले विद्यार्थीहरुको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयको देवनागरी भाषाको एकीकृत मञ्चमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा. कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी डा. मंचला झा लगायतयले शिक्षण प्रक्रियामा मातृभाषाको भूमिकाबारे आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयकी प्राचार्य डा.भुवनेश्वरी रावले विद्यार्थीको सिकाइ प्रक्रिया र उनीहरुको क्षमता एवं सिर्जनशीलता प्रस्फुटन हुने सन्दर्भमा मातृभाषा थप प्रभावकारी हुने बताइन् । परम्परागत ज्ञानको शिक्षण प्रक्रियामा मातृभाषाको अतुलनीय भूमिका रहेको उनको भनाइ थियो ।
प्रतिस्पर्धामा सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम विद्यार्थीहरुलाई पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया 4