+
+

तीन तरिका : यसरी चिन्ने ताजा र स्वादिलो माछा

डा. प्रभात न्यौपाने डा. प्रभात न्यौपाने
२०७९ फागुन ११ गते १६:०३

माछा कम्ता स्वादिलो हुन्न । त्यसमाथि यसका अनेक परिकार बनाउन सकिन्छ । तारेर, उसिनेर, झोल हालेर, साँधेर । तपाईंले आफ्नो मर्जीअनुसार स्वाद फेर्न सक्नुहुन्छ ।

बजारमा माछा पनि थरीथरीका पाइन्छन् । सहरी क्षेत्रमा जिउँदो तथा मरेको (बिक्रीयोग्य) माछा राखिएको हुन्छ । त्यसमध्ये कुन माछा ताजा हो ? कुन जातको माछा स्वादिलो हो ? हेक्का नहुन सक्छ ।

हामीकहाँ व्यावसायिक माछा पालन गरिएको छ, जहाँबाट बजारमा माछा आपूर्ति हुन्छ । तर नेपालमा हुने व्यावसायिक माछापालनले मात्र नेपालमा हुने माछाको मागलाई पूरा गर्न सक्दैन । त्यसैले भारतलगायत विभिन्न देशबाट पनि माछा आयात गरिन्छ ।

ताजा माछा चिन्ने तरिका

लामो समयदेखि मरेको वा मारेको माछा हामी बजारमा पाउँछौं । यस्तोमा ताजा राम्रो माछा पहिचान गर्न मुख्य तीन कुरामा ध्यान दिनुपर्छ ।

१. ताजा माछा पहिचान गर्न त्यसलाई नजिकबाट हेर्दा नियाल्नुपर्छ । त्यसको आँखा चम्किलो छ र शरीर पनि चिल्लो हुन्छ । लामो समयदेखि मरेको माछाको आँखा सेतो र भित्र गढेको हुन्छ ।

२. गन्धबाट पनि ताजा माछा पहिचान गर्न सकिन्छ । निकै समयअघि मरेको माछाको गन्ध एकदमै नराम्रो कुहिएको हुन्छ ।

३. माछाको गिल्सबाट पनि ताजा हो कि होइन पत्ता लगाउन सकिन्छ । ताजा माछाको गिल्सको रंग रातो हुन्छ भने पुरानो माछाको गिल्स सेतो हुन्छ ।

फर्मालिन जस्तो रसायन मिसाएको पो छ कि ?

मरेको माछालाई ताजा राख्न हानिकारक रसायन मिसाइएको छ कि छैन भन्ने कुरा प्रयोगशालामा परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ  । आम उपभोक्ताले भने यो कुरा थाहा पाउन सक्दैनन् । तर त्यस्तो हानिकारक रसायन नै राखिएको भने पाइएको छैन ।

यसरी लामो समय भण्डारण गरिन्छ

मरेका माछालाई विदेशबाट आयात गर्दा ‘फ्रोजन’ चिसो ठाउँमा राखेर र ‘थर्माकोल’ आइस नपग्लिने कार्टुनमा राखेर ल्याएको हुन्छ । माछालाई भण्डारण गर्दा आइस तथा चिसो फ्रिजमा राखिएको हुन्छ । जसले गर्दा माछा ताजा रहन्छ र खानयोग्य हुन्छ ।

बजारमा पाइन्छन् यस्ता माछा

बजारमा पाइने माछा मुख्यतः सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, कमन कार्पलगायत हुन् । साथै रहु, नैनी, भ्याकुर, रेन्बोट्राउट, भोटी बाम सिद्रा आदि जातका पनि माछा पाइन्छन् ।

सिल्भर कार्प, विगहेड कार्प, कमन कार्प, भ्याकुर, रहु, नैनी र रेन्बोट्राउट नेपालमै उत्पादन हुन्छन् ।

काँडा कम भएको माछा कुन हो ?

पंगास माछा र रेन्बोट्राउट शरीरमा कम काँडा भएको र व्यावसायिक रूपमा धेरै उत्पादन हुने माछा हुन् । तुलनात्मक रूपमा कम काँडा हुने माछा कमन कार्प र विगहेड कार्प पनि हुन् ।

सानो कि ठूलो माछा किन्नु उचित ?

पोषणको हिसाबले हेर्दा साना माछा खानु उचित हुन्छ । साना माछामा टाउकोदेखि पुच्छरसम्म पोषक तत्त्व रहेको हुन्छ । मासुको मात्रा बढी रुचाउनेहरूको लागि भने ठूलो माछा किन्नु राम्रो हो ।

माछामा पाइने पोषक तत्त्व

माछा ओमेगा-३ फ्याटी एसिडको एकदमै राम्रो स्रोत हो । माछा प्रोटिनयुक्त हुनुका साथै यसमा चिल्लोपन कम हुन्छ । स्वस्थ शरीरको लागि आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व माछामा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?