+
+

पाँचतारे डिलक्स होटल मेची क्राउनले क्षमता विस्तार गर्दै, १५० कोठा थप्ने

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन १२ गते १२:५०

१२ फागुन, काठमाडौं । झापाको मेचीनगरमा दुई वर्ष अगाडि सञ्चालनमा आएको पाँचतारे डिलक्स होटल मेची क्राउनले क्षमता विस्तार गर्ने भएको छ । अहिले १०१ कोठामा १८५ शय्या रहेको होटलले क्षमता विस्तार गरी २५१ कोठा र ४८५ शय्या पुर्‍याउने भएको छ ।

यसका लागि होटलले १५० कोठामा ३ सय शय्या थप गर्ने प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । अब यो होटल पूर्वी नेपालको सबैभन्दा ठूलो क्षमताको होटल बन्ने छ । होटलमा स्पा, साउना, स्वीमिङ पुल, जिमहल र क्यासिनोसहितका सुविधा छन् ।

भारतीय पाहुनाको बाहुल्य

पूर्वी नेपालमा भारतीय सीमा नजिकै रहेको यो होटलले उल्लेख्य संख्यामा भारतीय पर्यटक भित्राउन सफल भएको पाइएको छ ।

होटलको तथ्यांक अनुसार सन् २०२२ को ११ महिनाको अवधिमा यस होटलमा बास बसेका पाहुनामध्ये भारतीय ६९.७८ प्रतिशत थिए । २९.७६ प्रतिशत नेपाली थिए । बाँकी ०.५ प्रतिशत मात्र अन्य मुलुकका रहेको होटलको तथ्यांक छ ।

तथ्यांक अनुसार यस अवधिमा होटलले कुल १४ हजार २८४ जना पाहुनालाई सेवा दिएको छ । जसमध्ये भारतीय मात्र ९ हजार ९७६ जना छन् ।

नेपाली पाहुनाको संख्या ४ हजार २५१ छ । ६६ जना मात्र अन्य मुलुकका पाहुना रहेको होटलको तथ्यांक छ । होटलमा ११ महिनाको अवधिमा ६५ वटा कार्यक्रम आयोजना भएका छन् । जसमा ५ हजार ६४० जना सहभागी भएका थिए । यो होटल चन्द्रगढी विमानस्थलबाट १० किलोमिटरको दूरीमा रहेको छ ।

नेपाल–भारत जोड्ने काँकडभिट्टा नाकाबाट यो होटल ५.३ किलोमिटर पश्चिमतर्फ छ । यो होटलबाट इलामको कन्याम २२ किलोमिटरको मात्र दूरीमा छ । यहाँ विवाह तथा व्रतवन्धजस्ता कार्यक्रमका लागि भारतीय पर्यटक धेरै आउने गरेका छन् ।

२ भवन थप्ने प्रस्ताव

यस होटलमा अहिले कुल ९ वटा भवनमा १०१ कोठा र १८५ वटा शय्या छन् । अब स्तरोन्नती गरी २ भवनमा १५० कोठा र ३ सय शय्या पुर्‍याउने होटलको योजना छ ।

यो होटलमा अहिले १११ जना कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । क्षमता विस्तारपछि होटलले १६१ जनालाई प्रत्यक्ष रोजगारी दिने योजना बनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?