
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले विकास निर्माणका कार्यमा अनुमगन र मूल्यांकन प्रभावकारी नहुँदा तोकिएको समयमा योजना तयार नभएको बताएका छन् ।
एकातिर सडक पिच गर्दा जाँदा त्यसकै अर्को भागबाट भत्किन सुरु भइसक्ने विकास मोडेललाई सुधार गर्नुपर्ने संसदमा बताए ।
राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावमा बोल्ने क्रममा लेखकले भने,‘योजनाहरु तर्जुमा गर्छौ । बजेट विनियोजन गर्छौ । तर, योजना समयमा सम्पन्न हुँदैन ।’
अनुगमन तथा मूल्यांकनको कार्य प्रभावकारी हुने नसकेको उनले संसदमा सुनाए । राजश्वको अपव्यय, समयको दुरुपयोग हुन नदिन मूल्यांकन र अनुगमन जरुरी रहेको बताए ।
निश्चित समयावधि तोकिएको विकास निर्माणको कार्य तोकिएको समयमा पुरा नहुनुमा अनुगमन र मूल्यांकन प्रभावकारी नहुनु कारण रहेको उनले बताए । ‘अनुगमन र अध्ययन गर्ने र त्यसको प्रतिवेदन थन्क्याएर राख्ने हो भने त्यसको अर्थ भएन,’ लेखकले भने ।
प्रतिक्रिया 4