+
+

राष्ट्रपति निर्वाचन अगाडि एमालेले सरकार नछाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते ११:२७

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।

शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ ।

‘अस्थिर हुुनुभयो, बाहृय दबाब थेग्न सक्नु भएन र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लाग्नुभयो,’ बैठकको निष्कर्ष सुनाउँदै एमालेका एक पदाधिकारीले भने ।

यद्यपि एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेन, बरु त्यो सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । ‘सुबासजीको उम्मेदवारी पुस १० को निरन्तरता हो,’ एक पदाधिकारी भन्छन्, ‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने हस्ताक्षर गर्नेए दल र मतदानताहरु कायम रहन्छ भन्ने हाम्रो विश्वास छ ।’

१० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यो बेला राष्ट्रपति एमालेले लिने सहमति पनि भएको थियो ।

तर माओवादीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी शुक्रबार बसेको ८ दलको गठबन्धनमा छन् । र, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।

एमालेले भने आफ्नो उम्मेदवार नेम्वाङका लागि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाएको नेपाली कांग्रेस बाहेक सबै दलको समर्थन खोज्ने बताएको छ । बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘हिजोको निर्णयले थोरै तलमाथि भएको छ, तर २५ गतेसम्म धेरै कुरा पाक्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?