
१४ फागुन, काठमाडौं । इङ्वा खोला हाइड्रोपावर लिमिटेडले २१ फागुनदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
यस्तै सर्वसाधारणलाई छुट्याएको जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख कित्ताको १० प्रतिशतले हुने १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३, पाँचथरको याङवरक गाउँपालिका-२ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा ८ चैतसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा भने ८ चैतसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २० चैतसम्म थप हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका साथै सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाट क्षमताको इङ्वा खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । उक्त आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ । यस्तै आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया 4