
१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले कहिलेकाहीँ नबोलाएका पाहुनाले राजनीतिक वातावरण बिथोल्ने काम गर्ने गरेको टिप्पणी गरेकी छिन् ।
सोमबार राष्ट्रियसभा बैठकमा समय लिएर बोल्दै परराष्ट्र मन्त्री पौड्यालले आफ्नो ४२ दिने कार्यकालका क्रममा थुप्रै उच्चस्तरका भ्रमण भएको बताइन् । रणनीतिक र राजनीतिक उद्देश्यका भ्रमण पनि भएको भन्दै उनले भनिन्, ‘मेरो अनुभवले कहिलेकाहीँ नबोलाएको पाहुनाले समय र स्रोत मात्र खर्च गर्दैन, राजनीतिक वातावरण पनि बिथोल्ने पनि काम गर्छ ।’
नेपालका नियोग प्रमुखहरुको हस्तक्षेपकारी भूमिकालाई व्यवस्थित गर्नु अर्को चुनौती भएको उनले बताइन् । यसका लागि व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर मात्र भ्रमण गर्नुपर्ने र सरकारी निकायले विदेशी पाहुना वा प्रतिनिधिलाई भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरेको परराष्ट्रमन्त्री पौड्यालले जानकारी दिइन् ।
‘निर्णय त भयो मन्त्रिपरिषद्बाट, तर कार्यान्वयनमा इमान्दारिताको जरुरी चाहिँ छ,’ उनले भनिन्, ‘सरकारी निकायले त कार्यान्वयन गरेका छन् । दल र दलको नेतृत्वलाई कसरी यो आचारसंहिताभित्र बाँध्ने भन्ने चुनौती छ ।’
प्रतिक्रिया 4