
विज्ञान जगतमा ‘विकास’ र ‘उद्विकास’ चिर–परिचित शब्द हुन् । यी दुई शब्दले भिन्न अर्थ बोकेका छन् । जे सचेतनतापूर्वक गरिन्छ त्यो ‘विकास’ हो । जे स्वस्फूर्त वा आफसेआफ हुन्छ त्यो ‘उद्विकास’ हो ।
यो संसारमा सचेततापूर्वक कर्म गर्ने प्राणी केवल मानिस हो । त्यसकारण यसो भन्न सकिन्छ– मानिसले गर्ने कर्म ‘विकास’ हो, प्रकृतिमा घटित हुने परिघटना ‘उद्विकास’ । यो आलेख ‘उद्विकास’ मा केन्द्रित हुनेछ ।
उद्विकास भन्ने बित्तिकै आज हामी चार्ल्स डार्बिन (सन् १८०९–१८८२) को नाम सम्झन्छौं । तर विज्ञानमा आएको क्रान्तिले उद्विकासको ‘डार्बिन सिद्धान्त’ लाई भत्काइसकेको छ । जसका कारण प्रचलित सामाजिक/राजनीतिक विचारधारा (उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, कल्याणवाद) पनि भत्किएका छन् ।
यसको ठाउँमा फरक सिद्धान्त स्थापित भएका छन् । जसले फरक सामाजिक/राजनीतिक चिन्तनका लागि आधार तयार गरिदिएको छ । तर आजसम्म यो विषय विचारक र राजनीतिकर्मीहरूको प्राथमिकतामा परेको छैन । स्कुल र विश्वविद्यालयका पाठ्यक्रममा पनि यो विषयले महत्व पाएको छैन ।
डार्बिन सिद्धान्त
डार्बिन भन्दा अगाडि पनि उद्विकासको अवधारणा थियो । जीन बप्टिस ल्यामार्क (सन् १७४४–१८२९) ले सन् १८०२ मा ‘बायोलोजी’ (जीवविज्ञान) शब्द पहिलोपल्ट प्रयोग गरेका थिए । उनका दुईवटा महत्वपूर्ण सिद्धान्त छन् । पहिलो, ‘कार्यले अंग सृजना गर्दछ’ र दोस्रो, ‘वंशाणुले सन्तानको परिवर्तनमा भूमिका खेल्दछ’ ।
ल्यामार्कले जिराफको घाँटी लामो हुनुको उदाहरण प्रस्तुत गरेर यो प्रक्रियालाई ‘रूपान्तरण’ भनेका थिए । यो सोचलाई ‘सूक्ष्म वंशाणु ल्यामार्कवाद’ भनिएको छ । उनका यिनै सिद्धान्तमा उद्विकासको अवधारणा अन्तरनिहित भएको मानिएको छ ।
डार्बिनको पुस्तक ‘जातिहरूको उत्पत्ति’ सन् १८५९ मा प्रकाशन भयो । उनका अनुसार हामी सबै प्राणी एउटै पूर्वजबाट आएका हौं । सजीव चिजहरू, रूखदेखि माछासम्म, स्तनधारीदेखि चराहरू, सबै एउटै पूर्वजबाट उत्पत्ति भए । सबै जीव र वनस्पति अन्तरसम्बन्धित सञ्जालमा आबद्ध छन् ।
वातावरण परिवर्तन सँगै जीवहरूले परिवर्तित वातावरणमा आफूलाई घुलमिल गराउन सक्नुपर्दछ । तर सबै जीवहरूले यो क्षमता राख्दैनन् । जसले यो क्षमता राख्छ उसको नयाँ पिंढीमा उल्लेख्य चारित्रिक परिवर्तन हुन्छ । प्राणी थप विकसित हुन्छ । यसैलाई ‘प्राकृतिक छनोटका माध्यमबाट ‘उद्विकास’ भनिएको छ ।
नव–डार्बिनवाद
डार्बिनको जुम्ल्याहा सिद्धान्त ‘मौकापरक विविधता’ (चान्स भेरिएसन) र ‘प्राकृतिक छनोट’ (नेचुरल सेलेक्सन) दुवै आधुनिक उद्विकासको सिद्धान्तका महत्वपूर्ण तत्व हुँदाहुँदै पनि नयाँ जीवले नयाँ गुण कसरी विकास गर्छ भन्ने चाहिं उनले बताउन सकेका थिएनन् ।
कसरी जीवले आफ्ना स्वभाव सन्तानमा हस्तान्तरण गर्दछ ? किन केही स्वभाव हस्तान्तरित हुन्छन् र केही हुँदैनन् ? दम्पतीका स्वभाव सन्तानमा आउँदा कसरी समायोजित हुन्छन् ? यस्ता स्वभाव आपसमा द्वन्द्वरत हुन्छन् कि समायोजित ? यी प्रश्नमा डार्बिन अनुत्तरित नै थिए ।
डार्बिनले आफ्ना समकालीनलाई अनुमान स्वरूप बताएका थिए– नयाँ जीवले पहिलो आधा गुण आफ्ना बाबुआमाबाट बराबरीको मिश्रणका रूपमा ग्रहण गर्दछ । बाँकी आधा विल्कुलै नयाँ गुण लिएर जन्मन्छ । यसको अर्थ यो हो कि नयाँ जीवले आफ्नो बाबुआमा भन्दा जम्मा ५० प्रतिशत मात्र नयाँ गुण विकास गर्दछ । यस मध्येबाट जम्मा २५ प्रतिशत मात्र नयाँ पुस्तामा हस्तान्तरण गर्दछ । यो आधारमा हेर्दा त प्राकृतिक छनोटको प्रक्रियामा गुण त झन्झन् संकुचित हुँदै जाने भयो । यो संगतिपूर्ण कुरा थिएन ।
डार्बिन आफैंले आफ्नो सिद्धान्तको गम्भीर गल्ती थाहा पाएका थिए । तर यसको उपचार गर्ने उपाय उनीसँग थिएन । उनको यो समस्या पछि ग्रिगोर मेण्डल (१८२२–१८८४) ले समाधान गरे । मेण्डलले एक पुस्ताबाट अर्को पुस्तामा सर्ने तत्वको रूपमा ‘वंशाणु इकाइ’ पत्ता लगाएका थिए । पहिले यसलाई उनले ‘वंशाणुको इकाइ’ नै भनेका थिए । पछि यसैलाई ‘जीन’ भनियो ।
मेण्डलले भने, ‘प्रजननको प्रक्रियामा बाबुआमाको स्वभाव मिश्रण हुँदैन । बरु एक पुस्ताबाट अर्को पुस्तामा जस्ताको तस्तै सर्दछ ।’ डार्बिनको अनुमान जस्तो ‘स्वस्फूर्त उत्परिवर्तन’ (रेण्डम म्युटेशन)को प्रक्रियामा यो घट्दै जाने होइन बरु ‘प्राकृतिक छनोट’ को माध्यमबाट झन् संरक्षित हुँदै जान्छ । यसरी मेण्डलले डार्बिनका प्रश्नको समाधान गरिदिए । तर बीसौं शताब्दीको पुनःपुष्टि नहुञ्जेल यसलाई खास विश्वास गरिएन । मेण्डलको मृत्युको २० वर्षपछि मात्र वैज्ञानिकहरूले उनको खोजको महत्व थाहा पाएका थिए ।
जेनेटिक्सले ‘नव–डार्बिनवाद’ जन्मायो । नव–डार्बिनवाद भनेको जीनको तहमा हुने उद्विकासले जीवको समग्र स्वभावलाई निर्धारण गर्दछ भन्ने मान्यता हो । नव–डार्बिनवादीहरू भन्दछन्– साना साना जेनेटिक परिवर्तनको कारण नै जीव विकासमा विशिष्टीकरण हुन्छ । बृहत् उद्विकास भनेकै धेरै संख्याका सूक्ष्म उद्विकासको परिणाम हो ।
तर यो सिद्धान्तका विरोधाभास छन् । जीवाष्म अभिलेखमा ‘क्रमिक विकास’ भेटिंदैन । बरु लामो समयको ‘स्थिरता’ पछि विशिष्टीकरण भएको चाहिं भेटिन्छ । यस्तो अवस्थालाई ‘विरामसहितको सन्तुलन’ भनिएको छ, र सर्वस्वीकार्य जस्तै छ । ‘अनियमित उत्परिवर्तन’ को अवधारणा पनि प्रायः सर्वस्वीकार्य नै छ । तर जीवका सबै प्रकारका सामाजिक व्यवहार जीनमै पूर्वनिर्धारित हुन्छन् भन्ने ‘जेनेटिक निर्धारणवादी’ दृष्टिकोणको चाहिं आलोचना भएको छ ।
वैचारिक विस्तार
थोमस हब्स (१५८८–१६७९), जोन लक (१६३२–१७०४) र जीन ज्याक रुसो (१७१२–१७७८) को पालामा उद्विकास सिद्धान्त थिएन । यद्यपि उनीहरूको ‘सामाजिक सम्झौताको सिद्धान्त’ क्रमिक विकासको मान्यतामा आधारित छ ।
समाजशास्त्रका पिता मानिएका अगस्ट कम्प्ट (१७९८–१८५७) को पालासम्म पनि उद्विकास सिद्धान्त प्रकाशित भइसकेको थिएन । यद्यपि कम्प्टले समाजको विकासक्रम ‘असभ्य–अर्धसभ्य–सभ्य’ को परिपथमा अघि बढ्छ भन्ने प्रक्षेपण गरेका थिए । हवर्ट स्पेन्सर (१८२०–१९०३) इमाइल दुर्खिम (१८५८–१९१७) र म्याक्स वेबर (१८६४–१९१७) का समाजशास्त्रीय धारणा भने पूरापूर डार्बिन सिद्धान्तबाट प्रभावित थिए ।
डार्बिनले जीवको विकास प्रक्रियालाई व्याख्या गर्दा ‘संघर्षद्वारा जीवन’ (स्ट्रगल फर लाइफ) शब्द प्रयोग गरेका थिए । हबर्ट स्पेन्सरले यही धारणाको व्याख्या गर्दा ‘योग्य मात्र बाँच्छन्’ (सर्भाइवल अफ द फिटेस्ट) शब्द प्रयोग गरे । टमस माल्थस (१७६६–१८३४)को ‘जनसंख्या सिद्धान्त’ मा पनि यो धारणा अभिव्यक्त भयो । यस्ता धारणालाई आज ‘सामाजिक डार्बिनवाद’ भनेर चिनिन्छ ।
स्पेन्सरले डार्बिनको उद्विकास सिद्धान्तलाई न्यूटनका गतिका नियमसँग मिसाएका थिए । जीवशास्त्रको जैविक उद्विकास (अर्गानिक इभोलुसन) नै समाजमा आउँदा ‘सामाजिक उद्विकास’ मा रूपान्तरण भयो । उनले सामाजिक उद्विकासलाई सजातीयबाट विविधतातर्फ (होमोजिनियस टु हेटेरोजिनियस), सरलबाट जटिलतर्फ, एकरूपताबाट बहुरूपतातर्फ (युनिफर्मिटी टु मल्टीफर्मिटी) निश्चित चरण भएर गुज्रने प्रक्रियाको रूपमा व्याख्या गरे ।
‘धनी र शिक्षित नै मानव समाजका लागि उचित र योग्य छन् । यिनीहरू बाँच्नका लागि अगाडि बढ्नुपर्छ, बढ्छन् । कमजोर र गरिबलाई उनीहरूको भाग्यले नै पछाडि पार्दछ ।’ माल्थस र स्पेन्सरले डार्बिन सिद्धान्तमा टेकेर यसप्रकारको विभेदकारी सामाजिक धारणा विकास गरे । माथि उल्लिखित चिन्तकका कर्मले उदारवादी विचारधारा जन्मियो । वंशाणु र जेनेटिक्स सिद्धान्तले जातिवादी/राष्ट्रवादी विचारधारा जन्मायो ।
उन्नाइसौं शताब्दीका मार्क्स/एंगेल्सले डार्बिन सिद्धान्तलाई समर्थन र विरोध दुवै गरे । उनीहरूले प्रकृतिका लागि ‘क्रमिक विकास’ को डार्बिन सिद्धान्त ठिक छ भने । बाँदरबाट व्यक्ति, परिवार, निजी धन र राज्य, सबै ‘क्रमिक विकास’ को प्रक्रियाद्वारा पैदा भए भन्ने भाष्य बनाए ।
तर अर्कोतिर राज्य जन्मिएपछिको अवस्थाका लागि भने डार्बिन सिद्धान्त काम नलाग्ने भन्दै विरोधाभाषी कुरा गरे । यस ठाउँमा उनीहरूले समाज, ‘क्रमिक विकास’ र ‘छलाङ’, दुवैको ‘द्वन्द्वात्मक प्रक्रिया’ द्वारा अघि बढ्ने कुरा गरे । यति खण्डन गर्दागर्दै पनि मार्क्स/एंगेल्सले समाजको गतिलाई एकलरेखीय चरणमा देखाउने तरिका भने छोडेनन् । यसरी सारतत्वका हिसाबले हेर्दा माक्र्सवादी विचारधारा पनि डार्बिन चिन्तनको सीमाभित्रै सीमित देखियो ।
उद्विकास सिद्धान्तमा क्रान्ति
डार्बिन सिद्धान्तको महत्व के हो भने, यसले प्राणीहरू कुनै सृष्टिकर्ताको हातबाट पैदा भए भन्ने अन्धविश्वासलाई तोडिदियो । सृष्टि प्रक्रिया लामो कालको क्रमिक विकासको उपज हो भन्ने धारणा स्थापित गरायो । पृथ्वीका सारा प्राणी एउटै उद्गमबाट क्रमशः विकसित भएका हुन् र यिनीहरू अन्तरसम्बन्धित सञ्जालमा आवद्ध छन् भन्ने नवीन सोच दियो । डार्बिनका यी धारणा आज पनि उत्तिकै सान्दर्भिक छन् ।
उनका बाँकी कुरा भने आधुनिक जीवविज्ञानले खण्डित गरेको छ । उद्विकास सिद्धान्तमा क्रान्ति ल्याउने मूल पात्र लिन मार्गुलिस (१९३८–२०११) हुन् । उनको उद्विकासको सिद्धान्तलाई ‘सहजीवन सिद्धान्त’ (सिमबायोसिस) भनिएको छ । मार्गुलिसले पृथ्वीको सतहमा रहेका ब्याक्टेरियाहरूको सूक्ष्म जीवन चक्र अध्ययन गरेकी थिइन् । यो अध्ययनले नै उनलाई डार्बिन भन्दा फरक निष्कर्षमा पुर्यायो ।
डार्बिन, संसारमा जीवन पैदा भएको परिघटनालाई ‘स्थानीय’ तत्वको कार्य–कारण सम्बन्धमा देखाउने प्रयास गर्दथे । उनी भन्थे, स्थूल भौगोलिक परिवेशले नै पृथ्वीमा जीवन पैदा हुने अवस्था सिर्जना गरेको हो । जनावर र वनस्पतिहरू एक किसिमका ‘यात्रु’ हुन्, जो भौगोलिक विकासको खास मौकामा उद्विकास भएका थिए ।
मार्गुलिसले यसको ठिक विपरीत कुरा गरिन् । उनको धारणामा जीवन भनेको कसैले पैदा गर्ने चिज होइन । आफ्नो अस्तित्वका लागि आवश्यक वातावरण जीवन आफैंले सृजना गर्दछ । अर्थात्, जीवनले नै जीवन सिर्जना गर्दछ । पृथ्वी ‘निर्जीव भौतिक वस्तु’ होइन, ‘सजीव सञ्जाल’ हो । पृथ्वी मात्र होइन, सिंगो ब्रह्माण्ड नै जिउँदो छ । ब्रह्माण्डीय जीवनको ‘स्वसंचालन’ द्वारा नै पृथ्वीमा पनि जीवन ‘स्वसंचालित’ छ ।
पृथ्वी र ब्रह्माण्ड अन्तरसम्बन्धित पृष्ठपोषण संयन्त्रमा बाँधिएका छन् । पृथ्वीका जनावर र वनस्पति क्षणिक ‘यात्रु’ होइनन् । यो संसारमा हरेक जीवन सार्वभौम छ । पृथ्वीमा जीवनको अस्तित्व रहेको परिघटना ‘स्थानीय’ (सापेक्ष) होइन, ‘ब्रह्माण्डीय’ (निरपेक्ष) परिघटना हो ।
डार्बिनले ‘क्रमिक विकास’ मा जोड दिएका थिए, मार्गुलिसले ‘छलाङ’ भनिन् । आफ्नो अनुसन्धानमा मार्गुलिसले स–सानो स्तरमा हुने नयाँ प्रजातीय परिवर्तन पुष्टि हुने खालको तथ्य फेला पारिनन् । बरु, ठूलो स्तरमा छलाङ मार्दै अघि बढ्ने प्रवृत्ति फेला पारिन् । त्यसैले उनले भनिन् उद्विकास भन्ने कुरा विस्तारै घिस्रिंदै होइन, आकस्मिक र नाटकीय रूपमा हुने गर्छ ।
डार्बिनले ‘संघर्षद्वारा जीवन’ भनेका थिए । मार्गुलिसले ‘सहजीवनद्वारा जीवन’ भनिन् । आफ्नो अध्ययनमा उनले विभिन्न जीव बीचमा संघर्ष देखिनन् । बरु आपसी भलाइका लागि सहकार्य गर्दै बसेका कैयौं उदाहरण फेला पारिन् ।
मार्गुलिसले भनिन्, ‘जस्तो कि व्याक्टेरियाले अर्को जीवित प्रजातिसँग समाविष्ट भएर सहजीवन मार्फत नयाँ पुस्ता फैलाउँछ । मानवले पनि यही गरिरहेको छ, जसरी प्रकृतिले गरिरहेको छ । चाहे बोटबिरुवाको जीवकोष होस् अथवा जनावरको, चाहे ढुसीको जीवकोष होस् अथवा मानवको, यी सबै शृंखलाबद्ध रूपमा भएका सहजीवनको मिलन (सिमबायोटिक मर्जर) को परिणाम हो, जहाँबाट बिशाल प्रजातीय फड्को सम्भव भएको हो ।’
उद्विकासको यो नयाँ सिद्धान्तले इतिहास सम्बन्धी हाम्रा प्रचलित बुझाइलाई खण्डित गर्दछ । विशेषतः ‘सामाजिक सम्झौताको सिद्धान्त’ र ‘ऐतिहासिक भौतिकवाद’ वा ‘इतिहासको भौतिकवादी व्याख्या’ का नाममा जे जस्तो भाष्य बनाइएको छ, त्यसको खण्डन गर्दछ ।
सामाजिक चिन्तकहरूको आजको अभिभारा उद्विकासको नयाँ सिद्धान्तका आधारमा सामाजिक चिन्तनको नयाँ ढाँचा निर्माण गर्नु हो । इतिहास, विज्ञान र समाजशास्त्रको क्षेत्रमा प्रचलित भाष्यमा क्रान्तिकारी परिवर्तन गर्नु हो ।
प्रतिक्रिया 4