
१५ फागुन, काठमाडौं । सरकारले चालु आव २०७९/८० को ७ महिनाको अवधिमा अर्थ विविधबाट सवा २१ अर्ब रुपैयाँ निकासा गरेको छ । जसमा कोरोना बीमावापत दिइएको १ अर्ब रुपैयाँ निकासा समेत समावेश छ ।
अर्थ मन्त्रालयका अनुसार अर्थ विविधबाट माघसम्म २१ अर्ब २० करोड ६५ लाख २५ रुपैयाँ निकासा दिइएको छ । जसमा धरौटी फिर्ता, न्यायिक निर्णय अनुसार हुने कर तथा धरौती फिर्ता, विभिन्न प्रतिनिधिमण्डलको भ्रमण खर्च तथा निर्वाचनमा भएको निकासा खर्च समेत समावेश छ ।
निर्वाचनमा निर्वाचन आयोग, गृह मन्त्रालय, नेपाली सेनासहितका निकायले थप निकासा लिएका थिए । नवौं राष्ट्रिय खेलकुदमा भएको खर्च १० करोड रुपैयाँ समेत निकासा दिइएको छ । यसै आवमा नेपाल प्रेस यूनियनको नवौं राष्ट्रिय महाधिवेशनका लागि सरकारले ३० लाख रुपैयाँ निकासा दिएको थियो ।
यसबीचमा मदन भण्डारी फाउण्डेसनलाई ५ करोड निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यो निकासमा पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिमा सरकारले दिएको राहतवापतको २ करोड रुपैयाँ समेत समावेश छ ।
प्रतिक्रिया 4