
काठमाडौं । भान्सामा चामल सकिन्छ, हामी दौडिएर पसल पुग्छौं । नुन, तेल सकिन्छ, फेरि बजार दौडिन्छौं । सागसब्जी, मरमसाला, दाल-गेडागुडी, फलफूल, खाजा-नास्ता, साबुन, टुथपेस्ट जे-जति सकिन्छ, किन्नका लागि बजार चहार्छौं ।
बजार पुगेपछि अनेकथरी सरसामान देखिन्छ । किन्न मन लाग्छ । किन्छौं पनि । घरमा आइपुग्दा कति जरुरी सामान छुटेको हुन्छ र कति अनावश्यक सरसामान ल्याइएका हुन्छौं । यसले अनावश्यक दौडधुप त हुन्छ नै खर्च पनि बढ्छ । नतिजा, घरखर्च धान्न धौ-धौ हुन सक्छ ।
वास्तवमा किनमेल एक कला हो । हामीलाई केही न केही किन्नुपर्ने नै हुन्छ । घरमा सरसामान सकिएको हुन्छ तर त्यस्ता सरसामान कसरी खरिद गर्ने ? केही काइदा अपनाउन सकिन्छ ।
१. हप्ताको वा महिनाको लागि बजेट तय गरौं
घरमा आवश्यक हुनासाथ बजारमा किन्न जाने भन्दा पनि मासिक, साप्ताहिक वा पाक्षिक बजेट तय गर्नु उत्तम हुन्छ । जस्तो एक महिनाभर हामीलाई घरमा के-के चाहिन्छ ? अनुमानित बजेट र सरसामानको सूची तयार गर्न सकिन्छ । पन्ध्र दिन वा एक हप्ताका लागि पनि यसरी बजेट तय गर्न सकिन्छ ।
के फाइदा ?
यसले गर्दा निर्धारित बजेट र सूचीअनुसार एकमुष्ट किनमेल गर्न सकिन्छ । समय, पैसा, श्रमको बचत हुन्छ ।
२. सूची बनाऔं
किनमेल गर्नुअघि सूची बनाउनु एकदमै महत्वपूर्ण हुन्छ । कुन कुन सामान चाहिन्छ ? कति चाहिन्छ ? त्यसका लागि कति खर्च लाग्न सक्छ ? यसैको हिसाब गरेर सूची बनाउन सकिन्छ । सूची बनाउँदा एकदमै जरुरी वा अत्यावश्यक कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।
के फाइदा ?
आवश्यक सामान छुट्दैन । अनावश्यक सामानमा खर्च हुँदैन । किनमेल गर्दा अलमल र दुविधा हुँदैन । फटाफट सरसामान किन्न सकिन्छ ।
३. झोला बोक्न नबिर्सौं
सामान्य लाग्न सक्छ, झोला बोक्ने कुरा । तर तपाईं किनमेलको भुक्तभोगी हुनुहुन्छ भने झोलाको समस्या झेल्नुभएकै हुनुपर्छ । कतिपय ठाउँमा झोलाका लागि अतिरिक्त पैसा तिर्नुपर्ने हुन्छ, कतिपय ठाउँमा झोला नै पाइँदैन । त्यसैले आफ्नो सरसामान राम्ररी अटाउने बलियो झोला पनि साथमा लानु एकदमै बुद्धिमानी हुनसक्छ ।
के फाइदा ?
सरसामान खरिद गरिसकेपछि झोला खोज्ने झन्झट हुँदैन । झोला किन्नुपर्ने अवस्था हुँदैन । ढुक्कले आफ्नो सामान सुरक्षित राख्न र बोक्न सकिन्छ ।
४. किनमेल गर्न पायक पर्ने ठाउँ रोजौं
किनमेल गर्नका लागि आफूलाई सहज, पायक र भरपर्दो ठाउँ रोजौं । सकेसम्म घर नजिकको स्थानमा किनमेल गर्न सकियोस्, जसले गर्दा अनावश्यक यात्रा वा ढुवानी गर्न नपरोस् । यद्यपि सहज मूल्य र गुणस्तरीय सरसामान पनि पाउने हुनुपर्छ ।
के फाइदा ?
गाडी वा यात्राको खर्च हुँदैन । कुनै सरसामान छुटेमा वा बिग्रिएको सरसामान परेमा साट्न वा फिर्ता गर्न सकिन्छ ।
५. लेबल हेर्ने बानी गरौं
बजारमा अहिले सबैजसो खानेकुरा प्याकेटबन्द उपलब्ध हुन्छन् । हामीलाई खरिद गर्न पनि त्यस्तै सजिलो लाग्छ । तर यस्ता खानेकुरा खरिद गर्नुअघि त्यहाँ उत्पादन मिति, म्याद गुज्रिने मिति, तौल, अधिकतम मूल्य आदि उल्लेख छ कि छैन हेर्नैपर्छ । यदि यी कुरा उल्लेख छैन वा स्पष्ट छैन भने त्यो कमसल हुने जोखिम धेरै हुन्छ । त्यसैले कुनै पनि सामान खरिद गर्नुअघि सामानको पछाडि भागमा रहेको लेबल हेर्न बिर्सनु हुँदैन ।
के फाइदा ?
गुणस्तरीय सामग्री खरिद गर्न सकिन्छ । बिग्रिएको, सडिएको, म्याद गुज्रिएको, अखाद्य वस्तु खरिद गर्नबाट बचिन्छ ।
६. मोलमोलाइ गरौं
बजारको प्रवृत्ति नै हो, मोलमोलाइ गर्नु । हुन त कतिपय उत्पादित वस्तुको अधिकतम मूल्य नै राखिएको हुन्छ । त्यस्ता सरसामानको मूल्य हेरेर खरिद गर्न सकिन्छ । त्यसबाहेक कतिपय सरसामानको मूल्य उल्लेख गरिएको हुँदैन । त्यस्ता सरसामानको मूल्य बिक्रेताले आफूखुसी राखेका पनि हुन सक्छन् । त्यसैले मोलमोलाइ गर्न जरुरी हुन्छ ।
के फाइदा ?
कुनैपनि सरसामानको मूल्यमा ठगिने जोखिम कम हुन्छ । साथै कतिपय छुट, अफरहरु पनि पाउन सकिन्छ ।
७. सकेसम्म डिजिटल माध्यमबाट पैसा तिरौं
अहिले त खल्तीमा पैसा बोकिरहनु जरुरी छैन । किनमेल गरेपछि धेरैजसो ठाउँमा डिजिटल कारोबार गर्न सकिन्छ । सबैतिर त्यस्तो व्यवस्था नहोला तर सम्भव भएसम्म अहिले डिजिटल कारोबार गर्न सकिने अवस्था छ । मोबाइल बैंकिङ, डिजिटल वालेट, एटीएम कार्डको माध्यमबाट सोझै रकम भुक्तानी गर्न सकिन्छ । तर ख्याल गर्नुपर्ने कुरा के भने त्यहाँ इन्टरनेटका लागि डाटा सुविधा लिनुपर्ने पनि हुन सक्छ वा अन्य विधि अपनाउनुपर्ने हुन्छ । कहिलेकाहीं नेटवर्कलगायत कारणले पैसा तिर्ने प्रक्रियामा ढिलाइ वा दोहोरिने पनि हुन सक्छ । यस्तो अवस्थामा भने सतर्क रहनुपर्छ ।
के फाइदा ?
पैसा हराउने, चोरिने, च्यातिने डर भएन । पैसा तिरे, नतिरेको स्पष्ट विवरण सुरक्षित हुन्छ । पछि हिसाब गर्न पनि सहज हुन्छ ।
प्रतिक्रिया 4