
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई जेनेभा भ्रमण रद्ध भएको विषयलाई अपमानको रुपमा नलिन आग्रह गरेका छन् ।
राजीनामा पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका बेला प्रधानमन्त्री प्रचण्ड र निवर्तमान परराष्ट्रमन्त्री पौड्यालबीच जेनेभा भ्रमण रद्ध भएको विषयमा कुराकानी भएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपमा परिस्थिति बदलिएका कारण मुलुकको नेतृत्व गरेर विदेश गएका बेला मन्त्री पद नरहने स्थिति नबनोस् भनेर भ्रमण रद्ध गरिएको बताए । विगतमा मन्त्री विदेशमा हुँदा पद गएका उदाहरणसमेत रहेकाले त्यस्तो नहोस् भन्नका लागि जेनेभा नजान भनिएको प्रचण्डको भनाइ छ ।
‘फेरि पनि सहकार्य हुन सक्छ । राजनीतिक परिस्थितिलाई त्यही रुपमा बुझ्नुपर्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै मन्त्री पौड्यालले अनलाइनखबरसँग भनिन् ।
परराष्ट्रमन्त्री पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको कार्यक्रममा भाग लिन आइतबार बेलुका जेनेभा जाने तयारी थिइन् । तर अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकिदिएका थिए । उक्त घटनाले आफ्नो अपमान भएको पौडेलले बताएकी थिइन् ।
एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सोमबार नै पौड्यालसहित एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिए । उनीहरु राजीनामा बुझाउन बालुवाटार गएका भेला मन्त्री प्रधानमन्त्री प्रचण्डले मन्त्री पौड्यालसँग कुराकानी गरेका थिए ।
प्रतिक्रिया 4