+
+

सांसद सुमना भन्छिन् : भत्ता दिएर हाम्रो बानी नबिगार्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १९:२८

१५ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रममा गएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समुना श्रेष्ठ कार्यक्रम सकिएपछि बाहिर निस्कदै थिइन् । आयोजकले उनको हातमा भत्ता भनेर खाम थमाउन खोज्यो । ‘म त दंग परे । अनि मैले त भत्ता लिन्न भनेँ’, समुनाले भनिन् ।

श्रमसम्बन्धी कानूनका विषयमा छलफल गर्न जाँदा आफूलाई मन्त्रालयले भत्ता दिन खोजेपछि समुनाले आफ्नो काम नै कानून बनाउने भएको बताइन् । ‘हाम्रो त काम नै कानून बनाउने हो । हामी संसदबाट भत्ता पाउँछौं । एउटै कामका लागि किन थरिथरि ठाउँबाट भत्ता लिने ?’ उनले प्रश्न गरिन् ।

मन्त्रालयले कार्यक्रममा सहभागिलाई १ हजार रुपैयाँ भत्ता दिएको थियो । मन्त्रालयहरुले सांसदलाई छलफलमा बोलाएपछि भत्ता दिने चलन रहेको भनेर आफूलाई सुनाइएको पनि उनले बताइन् ।

उनले सोमबार मात्र एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा पनि भत्ता दिन खोजेको सुनाइन् । ‘आज पनि एउटा कार्यक्रम थियो त्यहाँ पनि भत्ता दिन खोजियो’ उनले भनिन्, ‘अनि मैले त्यहाँ भने – हाम्रो काम नै कानून बनाउने हो । भत्ता दिएर हाम्रो बानी बिगार्न नखोज्नुहोस् ।’

मन्त्रालयले आयोजना गर्ने छलफलमा टाढाबाट आउने सहभागीलाई भत्ता दिनु उचित भएपनि सांसदलाई भत्ता दिनु उचित नभएको सुमनाले बताइन् । ‘दुरदराजबाट आएका कोही सहभागीलाई भत्ता दिनु ठीकै होला’, उनले भनिन्, ‘तर, हामी कानून बनाउन भनेरै गएका सांसदलाई भत्ता दिनु ठीक होइन ।’

‘यसरी भत्ता दिन थालेपछि जहाँ भत्ता आउँछ त्यहाँ मात्र जान्छन् सांसद,’ सुमना भन्छिन्, ‘जसले भत्ता दिन्छ त्यसको कुरा सुन्ने । भत्ता दिन नसक्नेको कुरा नसुन्ने भयो भने के हुन्छ । त्यसैले यो छलफल, कार्यक्रममा गएपछि सांसदलाई भत्ता दिने चलन बन्द गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?