
१५ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको निरीक्षण गरेका छन् ।
सोमबार अस्पताल पुगेर मन्त्री मोदीले अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाइको अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री मोदीले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न अस्पताललाई प्रशासनलाई निर्देशन दिए । मुख्यगरी अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने मन्त्री मोदीको भनाइ थियो ।
‘अस्पतालमा सुधार गर्नुपर्ने पक्ष भनेको आकस्मिक सेवा प्रवाह हो, आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासाहरु छन्,’ मन्त्री मोदीले भने, ‘आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईंहरुको ध्यान जाओस् ।’
मन्त्री मोदीले चिकित्सक र नर्सहरुको व्यवहार र बोलीले पनि बिरामीहरुको मनोबल वृद्धि हुने भएकाले सेवाग्राहीसँग राम्रो व्यवहार गर्न समेत निर्देशन दिए ।
सेवाग्राहीसँग चमेना गृहमा सँगै खाना खाएका मन्त्री मोदीले चमेना गृहको सरसफाइमा ध्यान दिन पनि विशेष निर्देशन दिए । मन्त्री मोदीले नेता, सांसद, मन्त्री र अन्य सर्वसाधारणलाई समान व्यवहार गर्न पनि निर्देशन दिए ।
प्रतिक्रिया 4