
१६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो ।
चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।
‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए, निस्सा पेश गर्न आग्रह गर्दा एकदमै कमले मात्रै निस्सा बुझाए,’ उनले भने, ‘आजदेखि निस्सा नबुझाएकाहरुको संरचना माथि डोजर चलाएका छौं, ४ वटा भौतिक संरचना तोडिसकेका छौं ।’
पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना बनेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । यसअघि पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेश गर्न महानगरले सम्बन्धित व्यक्तिहरुलाई आग्रह गरेको थियो ।
प्रमाण देखाउन नसकेकाहरुको संरचना भत्काउने महानगरको तयारी छ । १५ कात्तिकमा दुई दिन भित्र निस्सा पेश गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो । साथै नगर प्रहरीसहित नक्सा शाखाको टोली सम्बन्धित व्यक्तिहरुकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह समेत गरेको थियो । महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न भनेको थियो ।
०२२ सालको नापीमा पोखरी ४ विघा १३ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा ‘चिल्ड्रेन पार्क’ बनाइएको छ ।
प्रतिक्रिया 4