
१६ फागुन, वीरगञ्ज । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै बाराको सिमरामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति बाराले मंगलबार प्रदर्शन गरेको हो । उनीहरुले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाविरुद्ध एक हौं, ऋणी मार्न पाइँदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । बाराको उमजन, जीतपुरसिमरा लगायत क्षेत्रका लघुवित्त पीडित महिलाहरुले प्रर्दशन गरेका हुन् ।
आन्दोलनमा सहभागी जीतपुरकी गीता बादीले लघुवित्तको कारणले परिवार उजाडिन लागेको गुनासो गरिन् । ‘लघुवित्तबाट लिएको ऋणको तनावले बुढो बित्नुभयो, बैंकमा जमिन छ, ३ लाख रुपैयाँ निकालेको लकडाउनमा २ लाख रुपैयाँ ब्याज जोडेर ५ लाख गल्ला (सावाँ) बनाइदिएका छन्,’ उनले गुनासो गरिन्, ‘रेन्यू गर्ने भए गर नत्र जमिन लिलाम गरिदिन्छु भनेर टर्चर दिइरहेका छन् । ७ धुर जमिन थियो, त्यो पनि लघु वित्तले नै खाइदिने भयो ।’
अर्काको घरको भाँडा माँझेरे बच्चा पालिरहेकी उनी किस्ता तिर्न सक्ने अवस्थामा नरहेको बताउँछिन् । पैसा छैन भन्दा लघुवित्तको सरहरुले नमानेको गीताकी छोरीले बताइन् । ‘लघुवित्तका सरले आएर छिटो पैसा बुझाउन भन्नुभयो, ममीले हात जोड्नुभयो । ऋणको कारणले बुवा वितेर जानुभयो । हाम्रो कोही सहारा छैन, ममीलाई लुकेर हिँड्नु परेको छ । पैसा छैन भन्दा सरहरु मान्नुहुन्न ।’
लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको आरोप जीतपुरकै ताहिर खान पठानको आरोप छ । ‘लघु वित्तले सही कारणले लगानी गरेनन्, सही दिशामा हिँडेनन्, राष्ट्र बैंकको निर्देशन टेरेनन्,’ उनले भने, ‘अहिले दिदी बिहिनीलाई मर्नु न बाँच्नुको बनाएको छ । कसैको खसी बोका लैजाने, कसैको टिभी उठाउने, कसैलाई खेत बारीमै लखेट्ने गरिरहेको छ ।’
ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको तर्क सिमराकी सावित्री शर्माको छ । गैरकर्जा प्रवाह गरी लघुवित्तीय संस्थाहरुले ऋणीलाई बिचल्ली बनाएको आरोप उनको छ ।
प्रतिक्रिया 4