
१७ फागुन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले धोबिनी गाउँपालिकामा निर्माणाधीन अस्पतालका बारेमा चासो राखेको छ ।
गाउँपालिकाको वडा नं २ भिखमपुरमा निर्माणाधीन १५ शय्याको अस्पतालबारे अख्तियारले चासो दिएको हो । अस्पतालमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग नभएको भन्ने सूचना अख्तियारले पाएको थियो ।
२०७७ साल मंसिर १५ गते सरकारले देशभर एकैसाथ अस्पतालको शिलान्यास गर्दा धोबिनीको अस्पतालको पनि शिलान्यास गरिएको थियो । १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी अस्पताल बनाउने जिम्मा बुद्ध/ड्रेगन/बस्नेत जेभीले लिएको थियो । १४ करोडको टेन्डर कम्पनीले १० करोडमा सकारेको थियो ।
धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले अख्तियार आएर निर्माणाधीन अस्पतालको बारेमा आवश्यक विवरण लिएर गएको जानकारी दिए । ‘ठेक्का सकार गर्ने, मोबिलाइजेसन रकम लिएर कामै नगरी बस्ने चलन छ’, उनले भने ‘सामान यताउता गर्लान् भनेर अस्पताल निर्माण कार्यको निगरानी त हामीले पनि गरिरहेका थियौं । कसैले उजुरी गरेछ क्यारे अख्तियारको टोली आएर रिपोर्ट लिएर गएको छ ।
अस्पताल निर्माण गर्दा कमसल सामग्रीको प्रयोग गरेको गुनासो आएपछि गएको टोलीले स्थलगत अनुगमन गर्नुको साथै निर्माण सामाग्रीको नमूना संकलन गरेर ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।
‘अस्पतालको भवन बनाउँदै गर्दा गुणस्तरीय सामग्री प्रयोग भएन भन्ने सूचना आयो, काम सम्पन्न भएपछि जाँदा कुनै अर्थ हुँदैन भनेर टोली खटायौं’, उनले भने, ‘गुणस्तरबारे प्रयोगशाला परीक्षण गर्न रड, बालुवा, गिट्टीको स्याम्पल लिएर आएको छ ।’
प्रतिक्रिया 4