
१८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।
नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।
यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो ।
सिधा हेर्दा अहिले नेपालले लगातार पाँच खेल जितेर लयमा छ । यूएई भने पछिल्ला खेलहरुमा संघर्ष गरिरहेको छ । लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ ।
नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । उता यूएई पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।
हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ ।
त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ
नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ ।
नेपालले लिग टु मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ । लिग टु मा नेपालले यसअघि यूएईलाई हराएको छैन ।
गत मार्चमा यूएईमै भएको लिग टु को दुवै खेलमा नेपाल पराजित भएको थियो । कम लक्ष्य पछ्याउँदा पनि नेपाल यूएईविरुद्ध पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
नेपालले यूएईसँग पछिल्लो पटक घरेलु मैदान कीर्तिपुरमै तीन खेलको ओडीआई शृङ्खला खेल्दै २-१ ले जितेको थियो ।
पहिलो खेलमा पराजित भए पनि नेपालले पुनरागमन गर्दै त्यसपछिका दुई खेल लगातार जितेर शृङ्खला कब्जा गरेको थियो । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले दोस्रो खेल ३ विकेट र तेस्रो खेल ६ विकेटले जितेको थियो ।
समग्रमा नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ ।
मोन्टी देसाइको आगमनपछि हयाप्पी ड्रेसिङ रुम मन्त्रसहित आत्मविश्वासी बनेको नेपाली टिमको ब्याटिङ लय अहिले राम्रो देखिएको छ ।
आवश्यक परेको बेला जुनै खेलाडीले पनि जिम्मेवारी लिँदै प्रदर्शन गरिरहेका छन् । अघिल्लो खेलमा पपुवा न्यु गिनीविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । अर्धशतकबाट चुके पनि आसिफ शेखले ४४ रन जोडेका थिए ।
यस्तै बलिङमा गुल्शन झाले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । लेफ्ट आर्म फास्ट बलर प्रतिश जिसीले त्यही खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरे ।
चार फास्टर खेलाएको नेपालका लागि सोमपाल कामी र करण केसीले नयाँ बलमा राम्रो बलिङ गरेका थिए । यस्तै टिममा पुनरागमन गरेका आरिफ शेखले पनि राम्रो प्रदर्शन गरे ।
सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् ।
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनकैको स्थानमा सन्दीपलाई राखिएको छ । जसले गर्दा नेपालको स्पीन डिपार्टमा फाइदा पुग्नेछ ।
केही समयअघि घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो रोजाइमा खेलेमा नेपालले तीन फास्टर बलर खेलाउनेछ ।
पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल छ ।
नेपाल-यूएईको हेड टु हेड
खेल : ९
नेपाल विजयी : ४
युएई विजयी : ५
नेपाल युएई खेलको नतिजा
एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूएई ८४ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ३ विकेटले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ६ विकेटले विजयी
प्रतिक्रिया 4