
१८ फागुन, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा १८ मंसिरमा हस्ताक्षर भएको थियो भने १७ पुसमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो ।
अन्तिम सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त बित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरे ।
धौलागिरी लघुवित्त वित्तिय संस्थाले २४-२९ साउनसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुनआउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुनआउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
खप्तड लघुवित्त वित्तीय संस्थाले ८-१२ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जारी पूँजीको ०.५प्रतिशतअर्थात २ हजार कर्मचारी र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतअर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेकाे छ ।
प्रतिक्रिया 4