
१९ फागुन, काठमाडौं । मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछि झिकिएको कलेजो नेपालमा पहिलो पटक अर्को व्यक्तिमा सफल रूपमा प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजो तीन जनामा सफल प्रत्यारोपण गरेको हो ।
भक्तपुरस्थित मध्यपुर अस्पतालमा मस्तिष्क मृत्यु भएकी एक किशोरीको अंग दान गरिएको थियो । उनको कलेजो ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषमा प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट सफल कलेजो प्रत्यारोपण गरिएको नेपालमै यो पहिलो हो । यसअघि दुई पटक भएको प्रयास असफल भएको थियो । यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा ती किशोरीको एक एक वटा मिर्गौला प्रत्यारोपण गरिएको छ ।
चिकित्सकहरूका अनुसार मस्तिष्क मृत्यु भएको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । किनकि मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्न । तर भेन्टिलेटरको सहायतामा शरीरका केही अंग चलायमान राख्न सकिन्छ । यो समयमा शरीरका केही अंग दान गर्न सकिन्छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिको ८ वटा अंग दान गर्न सकिन्छ । डा. श्रेष्ठका अनुसार दुई जनामा मिर्गौला, दुई जनामा फोक्सो, एक जनामा कलेजो, एक जनामा मुटु, एक जनामा प्यान्क्रियाज र एक सानोमा आन्द्रा प्रत्यारोपण गर्न सकिन्छ ।
चिकित्सकका अनुसार मस्तिष्क मृत्यु भएको मानिसबाट अंग निकाल्न मुटु भने चलिरहेको हुनुपर्छ । त्यो अवस्थामा मृतकका आफन्तले अंग दान गर्न सक्छन् । ब्रेन डेथ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । कलेजो १२ घन्टा, प्यान्क्रियाज १० घन्टा र मुटु तथा फोक्सो चारदेखि ६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ ।
हालसम्म मस्तिष्क मृत्यु भएका पाँच जनाको अगं दान भएको छ । नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ । मुटु, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्रा जस्ता अन्य अंगहरूको प्रत्यारोपण भने प्रविधि तथा जनशक्ति अभावका कारण सुरु हुन सकेको छैन ।
प्रतिक्रिया 4