
१९ फागुन, काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई लोककल्याणकारी बनाउन नसकेको बताएका छन् । शुक्रबार ललितपुरमा पब्लिक हेल्थ ग्रुप डिस्कसन नेपालले आयोजना गरेको एक कार्यक्रममा डा. वन्तले स्वास्थ्य बीमाको सिद्धान्त विपरीत सरकारले सेवा दिइरहेको जिकिर गरे ।
‘स्वास्थ्य बीमा लोककल्याणकारीको मूल सिन्द्धातमा आधारित भएर सेवा दिनुपर्ने छ । जसमा क्षमता अनुसार योगदान र आवश्यकता अनुसार उपभोग गर्ने हो’, डा. वन्त भने, ‘तर, सबै नागरिकको लागि सरकारले एउटै प्रिमियम तोकिदिएको छ । जसले स्वास्थ्य बीमालाई बजारमुखी बनाएको छ ।’
स्वास्थ्य बीमालाई बजारमा कम्प्युटर, गाडी खरीद गरेको जस्तो बनाउन नहुने वन्तले बताए । ‘कुनै पनि नागरिकले स्वास्थ्य सेवा किन्न नसकेको कारणले ज्यान गुमाउन नपरोस् भन्ने अवधारणा हो । तर, बीमाले अहिले सेवालाई किनबेचको रूपमा सञ्चालन गरेको छ’, डा. वन्तले थपे ।
सरकारले चाहेमा स्वास्थ्य बीमा कार्यक्रमलाई लोककल्याणकारी बनाउन सक्ने पनि उनले बताए । त्यसका लागि प्रत्येक नागरिकको आर्थिक क्षमतामा आधारित भएर बीमाको प्रिमियम निर्धारण गरिनुपर्ने डा. वन्तले बताए ।
‘केही नागरिकलाई त सरकारले पनि तिरिएको छ । बजारमा खरीद गरेजस्तो सबैलाई एउटै मूल्य राख्न हुँदैन,’ उनले भने, ‘अर्बपति र गरिबले एउटै शुल्क तिर्नेपर्नु बीमाको मोडल गलत छ । यसलाई सामाजिक न्याय भनिदैन ।’
सरकारले आधारभूत स्वास्थ्य सेवाको समेत सुनिश्चितता दिन नसक्नु दुखद भएको डा. वन्त बताउँछन् । ‘आधारभूत स्वास्थ्य सेवा आम नागरिकका लागि हकको रुपमा संविधानले स्थापित गरेपनि कार्यान्वयनमा समस्या देखिएको छ’ वन्तले भने, ‘तर, सरकारकै कमजोरीका कारण धेरै नागरिक आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । यो सर्वसाधारणका लागि गम्भीर कुरा हो ।’
प्रतिक्रिया 4