
१९ फागुन, काठमाडौं । अमेरिकी एसेट म्यानेजमेन्ट फर्म जीक्यूजी पाटनर्सले आफ्नो चार कम्पनीमा १.८७ अर्ब डलर लगानी गरेको भारतीय अर्बपति गौतम अडानी नेतृत्वको अडानी समूहले बताएको छ ।
अडानी समूह पछिल्लो ४÷५ सातादेखि गम्भीर आर्थिक संकट सामना गरिरहेको छ ।
अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिडनबर्ग रिसर्चले २४ जनवरीमा अडानी समूहमाथि वित्तीय अनियमितताको आरोप लगाएको थियो । लगतै अडानी समूहको शेयर मुल्यमा भारी गिरावट आयो । यो समूहले पुँजीबजारमा १३५ अर्ब डलर गुमाएको छ ।
त्यसयता अडानी समूहले कुनै पनि लगानी भित्र्याएको पहिलो पटक हो । जीक्यूजीको तर्फबाट भएको लगानी अडानी समूहको चार वटा कम्पनीमा बाँडिने छ, जसमा मुख्य कम्पनी अडानी इन्टरप्राइजेज पनि पर्छ ।
अडानी समूहका सीएफओ जुगेशिन्दर सिंहका अनुसार कम्पनीले जीक्यूजीलाई एक रणनीतिक लगानीकर्ताका रुपमा लिएको छ ।
जीक्युजीका अध्यक्ष राजिव जैनले पनि यो कम्पनी लामो समयसम्म विस्तार हुने सम्भावना रहेको बताएका छन् ।
प्रतिक्रिया 4