
२० फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
प्रेस क्लब गण्डकीको शनिबार पोखरामा भएको अधिवेशनमा उनले केपी ओलीलाई लक्षित गरी राष्ट्रिय स्वाधिनतामा गम्भीर आक्रमण भइरहेको बताएका हुन् ।
‘अहिले त रविजीलाई पर्यो राष्ट्रिय स्वतन्त्र पार्टीको साथीले आक्रमण भन्नुभयो । होइन ? आक्रमण भन्नुहुन्छ भने सबैभन्दा धेरै केपी ओलीलाई नै भा’कोछ । त्यो अहिले पनि भइरहेको छ । उहाँ सत्तामा पनि हुनुहुन्न,’ मुख्यमन्त्री अधिकारीले भने, ‘यो के हो भने गम्भीरतापूर्वक राष्ट्रिय स्वतन्त्रतामाथि आक्रमण भइराखेको हो । नेपालमाथि आक्रमण भइराख्याछ ।’
अधिकारीले प्रेस जगतले नै नेपाल र नेपालको सार्वभौमसत्तामाथि आक्रमण गरिरहेको आरोप लगाए । ‘राष्ट्रिय स्वार्थलाई भन्दा अस्थिरतातर्फ उन्मुख गराउने काम भइरहेको छ । अस्थिरताले के गर्छ, देशलाई बलियो बनाउँछ ?’ अधिकारीले भने, ‘यसले देशलाई बलियो बनाउँछ ? बनाउँदैन । व्यवस्थालाई बलियो बनाउँछ ? बनाउँदैन ।’
अस्थिरताले देशसँगै, व्यवस्था र राजनीतिक प्रणालीलाई पनि कमजोर बनाउने मुख्यमन्त्री अधिकारी बताए ।
उनले प्रणाली बलियो नहुँदा सञ्चार जगत ज्ञानेन्द्रकालीन तानाशाहको आक्रमणमा परेको समेत सुनाए ।
‘यो प्रणाली बलियो नहुँदा संञ्चार जगत ज्ञानेन्द्रकालीन तानाशाहीको सिकञ्जा बाघपञ्जाभित्र आक्रमणमा परेको हैन ?’ उनले भने, ‘त्यसकारण हामी कतिपय कुरामा शैशवकालमै छौं । त्यसका परिपक्वताहरु जरुरी छ ।’
मुख्यमन्त्री अधिकारीले सञ्चार जगतमा राष्ट्रिय लगानी हुनुपर्नेसमेत बताए । लगानी कहाँबाट र कसले गर्यो भन्ने नखुल्दा स्वार्थ बाझिने दाबी गरे । ‘सञ्चार जगतको लगानी राष्ट्रिय लगानी भयो भने हाम्रो हातमाथि हुन्छ । नेपाली भाषामै लेखेको छ, सम्पादकको नाम नेपाली नै छ,’ उनले भने, ‘लगानी कहाँबाट छ भन्ने हो भने अनि त्यसको स्वार्थ त त्यहीं हुन्छ नि !’
प्रतिक्रिया 4