
२१ फागुन, सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाले आयोजना गरेको दुईदिने निःशुल्क स्वास्थ शिविरबाट दुई हजारभन्दा बढीले सेवा लिएका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा सन्चालन गरिएको स्वास्थ शिविरबाट २१४२ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
स्वास्थ शिविरमा बिरामीहरुलाई जाँच गरेर निःशुल्क औषधि समेत वितरण गरिएको डा. देवेन्द्र आचार्यले बताए ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका नाक, कान घाँटी विभागका प्रमुख प्रा. डा. ढुण्डीराज पौडेल, डा. कविर बास्तोला, मेडिसिन विभागका प्रा. डा. रेवतीरमण मल्ल, डा. देवेन्द्र आचार्य, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. होमनाथ अधिकारी, डा. कृति बेल्बासे, रेडियोलोजीतर्फ डा. हरि सापकोटा, डा. प्रीति यादव, डा. आभा भट्टलगायतले सेवा प्रदान गरेका थिए ।
कार्यक्रम समापनमा बोल्दै भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले जनताको स्वास्थप्रती आफूहरु संवेदनशील रहेको भन्दै आगामी दिनमा पनि यस्ताखालका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
नेपालगन्ज मेडिकल कलेजका नाक, कान घाँटी विभागका प्रमुख प्रा. डा. ढुण्डीराज पौडेलले दैलेख जिल्लाको विकट गाउँपालिकामा विशेषज्ञ डाक्टरहरुसहित गरिएको स्वास्थ शिविरबाट गरिब, असहाय तथा दीर्घ रोगीहरु लाभान्वित भएको बताए ।
यस स्वास्थ्य शिविरबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आउने बिरामीहरुलाई अस्पतालले बेड चार्जमा ५० प्रतिशत र अन्य चेकजाँचमा २५ प्रतिशत छुट दिने अस्पतालका सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले बताए ।
प्रतिक्रिया 4