काठमाडौं । पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ । औषधीय गुणका कारण आयुर्वेदमा पनि दुबोलाई महत्वपूर्ण मानिन्छ । दुबोले शरीरका अनेक रोग निदान गर्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा ।
दुबो मुख्यगरी सेतो, निलो र हरियो गरी तीन प्रजातिको हुन्छ । तराईमा धेरै पाइने दुबो पहाडमा केही कम तर हिमाली भेगमा भने खासै नपाइने आयुर्वेद क्याम्पस कीर्तिपुरका सहप्राध्यापक एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का आयुर्वेद अनुसन्धानविज्ञ डा. विशुनदयाल प्रसाद पटेल बताउँछन् ।
दुबो मलिलो तथा ओसिलो माटोमा रोप्दा राम्ररी सप्रिन्छ । यसको जरा धेरै भित्रसम्म फैलिएको हुँदैन । यसलाई दैनिक पानी हाल्नुपर्छ । दुबो बाह्रै महिना पाइने बिरुवा हो ।
यसमा प्रोटिन, कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइने पटेल बताउँछन् । यसको प्रयोगले विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ । औषधीय गुण भएको दुबोलाई घरमै एउटा गमलामा लगाएर पनि यसको प्रयोग गर्न सकिने डा. पटेल बताउँछन् ।

के के समस्यामा लाभदायक हुन्छ दुबो ?
डा. पटेल भन्छन्, ‘दुबोले शरीरको विकार हटाउँछ । रगतलाई शुद्धीकरण गर्न सघाउँछ । पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ । नाकको समस्या पनि दुबो लाभदायक हुन्छ,’ उनी भन्छन्, ‘सामान्य अवस्था नाथ्री फुटे, छाती पोले, जीउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।’
दुबोको प्रयोग गर्दा दुबोलाई पिसेर त्यसको रस निकालेर १० देखि २० एमएल सेवन गर्न सकिन्छ । दुबोको रसलाई घिउमा पकाएर त्यसको लेपलाई रगत बगेको ठाउँमा लगाउन सकिन्छ । यसको रस टाउकोमा लगाएर टाउको दुखाइबाट छुटकारा पाउन सकिने पटेल सुझाउँछन् ।
घाउ–चोट लाग्दा, रगतको समस्या, नाकबाट रगत बग्ने समस्या, छालारोग, टाउको दुख्ने समस्यामा पनि दुबोको प्रयोग गरेर लाभ लिन सकिने पटेल बताउँछन् । ‘शरीरको भित्री प्रयोगभन्दा पनि बाहिरी प्रयोगको लागि दुबो बढी लाभदायी हुन्छ,’ उनी भन्छन् ।
नियमित सेवन गर्नुहुँदैन
दुबो नियमित सेवन नगर्नु नै राम्रो हुन्छ । कुनै समस्या समाधानको लागि यसको सेवन गरिएको हो भने समस्या समाधान भएपछि यसको सेवन रोक्नु उपयुक्त हुने पटेल बताउँछन् । ‘मात्रा नमिलाई तथा दैनिक यसको सेवन गर्दा यो शरीरमा गएर विषाक्त पनि हुन सक्छ,’ उनी भन्छन् ।
दुबोको सेवन गर्दा यसको जडिबुटी स्वादका कारण बान्ता हुने समस्या हुन सक्छ । मात्रा मिलाएर सेवन गरेको खण्डमा भने यसको खासै साइड इफेक्ट नभएको पटेलको भनाइ छ । उनका अनुसार आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन । त्यसैले प्रयोग गर्नुअघि जडीबुटी विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4