
२१ फागुन, काठमाडौं । हिमालका चुचुरा र बादललाई सूर्यको पहिलो किरणले छेड्दा एक भिक्षुणीले आफ्नो तरबार पिठ्युँबाट तानिन्। प्रतिद्वन्द्वीतर्फ प्रहार गर्दै उनलाई भुइँमा ढालिन्। आफ्नी प्रतिद्वन्द्वीलाई भुइँमा लडाउने भिक्षु थिइन्– जिग्मेब रब्सल ल्हामो।
आँखा र ध्यान लक्ष्यमा केन्द्रित गर। भुइँमा ढलेकी प्रतिद्वन्दीलाई ल्हामो भन्दै थिइन्। उनीहरू काठमाडौंको ड्रुक अमिताभ गुम्बामा अभ्यास गरिरहेका थिए। ल्हामो र उनका सहपाठीहरू धार्मिक रूपमा कुङ्फु भिक्षुका रूपमा परिचित छन्। ड्रुक्पा ८०० वर्ष पुरानो बौद्ध परम्परा हो। तिब्बती भाषामा ड्रुक्पाको अर्थ ड्रयागन हो। हिमालय वरपरका गुम्बाहरूले आजभोलि ध्यान र कराँतेले मिश्रण गरेका छन्।
हरेक दिन कुङ्फु खेल्नका लागि भिक्षुणीहरु कलेजी कपडा उतार्दै निख्खर खैरो कपडामा उपस्थित हुन्छन्। कुङ्फु उनीहरूका लागि खेल मात्रै होइन। लैङ्गिक समानता, शारीरिक कसरत र वातावरणमैत्री जीवनयापन सिकाउने धार्मिक अभियान हो।
ल्हामोको रेखदेखमा प्रशिक्षक क्षेत्र पैताला र तरबारका आवाजले गुञ्जायमान हुन्छन्। नरम कपडामा रहेका उनीहरूले प्रस्तुत गर्ने कौशल निकै कडा हुन्छ। भिक्षुणीहरू भुइँमा हात टेकेर गोडालाई फनफनी नचाउँछन्। एक-अर्कालाई मुक्का प्रहार गर्छन् र लात्ती हान्छन्।
कुङ्फुले समानता सिकाउने प्रशिक्षक ल्हामो बताउँछिन्। ‘कुङ्फुले हामीलाई लैङ्गिक अवरोध तोड्न र भित्री आत्मविश्वास बलियो बनाउन सहयोग गर्छ’ ३४ वर्षीय ल्हामो भन्छिन्, ‘यसले हामीलाई संकटको बेलामा पनि साथ दिन्छ।’
भारतको दक्षिणी क्षेत्रबाट १२ वर्षअघि त्यहाँ आएकी प्रशिक्षक ल्हामो भन्छिन्। अध्यात्मिक बहस वा अन्य विषयमा पुरूष भिक्षुहरूलाई टक्कर दिने साहस विगतमा महिलाहरूले गर्दैनथे। बौद्ध धर्मका जानकारहरुको स्मरणमा त्यस्ता महिलाहरूलाई धार्मिक र सामाजिक रूपमा कलंकित पार्ने काम हुनेभएकाले उनीहरूले हिम्मत गर्दैनथे। भिक्षुहरूबीच हुने गहन दार्शनिक बहसमा महिला भिक्षुहरूको सहभागिता हुँदैनथ्यो। महिला भिक्षुहरू खाना बनाउने र गुम्बाको सरसफाइमै केन्द्रित हुन्थे। महिलाहरूलाई शारीरिक तन्दुरूस्तीका लागि आवश्यक तालिम वा अगुवा प्रार्थनाको अवसर पनि दिइँदैनथ्यो।
तर केही दशकयता यस्ता परम्परागत मान्यता तोडिंदै आएका छन्। हिमालय वरपर बस्ने हजारौं महिला भिक्षुले त्यस्ता प्रतिबन्धलाई तोड्दै आएका छन्। गुम्बामा सुधारवादी आन्दोलनको सुरूवात ३० वर्षअघि जिङ्मे पेमा वाङ्कचेनले गरेका थिए। उनैले नै महिलाहरूलाई कुङ्फु सिकाउने अभ्यासको सुरुवात गराएका थिए। गुम्बाको पर्खाल बाहिर धार्मिक सन्देश मात्रै बाँड्ने भिक्षुहरूमा उनी परिवर्तन ल्याउन चाहन्थे। उनको यो अभिलाषा विस्तारै फैलिरहेको छ।
महिला भिक्षुहरूमा देखिएको परिवर्तनबारे उनी भन्छिन्, ‘हामी परम्परागत नियमहरू परिवर्तन गर्दैछौं। गुम्बाभित्र आसन, ध्यान गर्नुमात्रै हाम्रा लागि पर्याप्त छैन’, २९ वर्षीया कोन्चको ल्हामो भन्छिन्।
कुङ्फुको अलावा महिला भिक्षुहरू साइकल यात्रा पनि गर्छन्। महिनौंसम्म गुम्बा सरसफाइको अभियान लिएर निस्किन्छन्। ड्रुक्पाका महिला भिक्षुहरू अगुवा प्रार्थनामा सामेल हुन्छन्। जलवायु परिवर्तनबारे जनचेतना फैलाउँछन्।
विगत २० वर्षयता ड्रुक्पाका महिला भिक्षुहरूले कोरोनाकाल बाहेकमा काठमाडौंदेखि लद्दाखसम्म साइकल यात्रा गरेका छन्। हरित सवारी साधनको प्रवर्धन र महिला सशक्तिकरणका लागि आफूहरूले अभियान सुरू गरेको उनीहरुको भनाइ छ। यात्राका दौरान उनीहरूले महिला समानताबारे नेपाल र भारत दुवै क्षेत्रमा मानिसहरूलाई शिक्षित गराउँछन्।
सन् २००८ मा भियतनामबाट हस्तकला र संगीत सिक्न आएका भियतनामी टोलीले कुङ्फु सिकाएका थिए। त्यसयता हालसम्म ८०० जनाले तालिम लिएका छन्। ९० जनाले प्रशिक्षक बन्नका लागि उन्नत तालिम लिएका छन्। महिला भिक्षुहरूलाई महामुद्राको मन्त्रोच्चारणका लागि पनि प्रशिक्षण दिइएको छ। यसअघि पुरूषले मात्रै त्यो अवसर पाउँथे।
महिला भिक्षुहरूमा यस्तो जागरणपछि परम्परागत मान्यता राख्नेहरूले गुम्बा नै जलाउने धम्की समेत दिए। ड्रुक सम्प्रदायका महिला भिक्षुहरू स्थानीय बजार जाँदा अन्य सम्प्रदायका भिक्षुहरूबाट उनीहरूले धम्की समेत पाए भने केहीले दुर्व्यवहार पनि व्यहोर्नुपर्यो। यद्यपि उनीहरू त्यस्ता गतिविधिबाट विचलित भने भएका छैनन्। समूहमा हिंड्दा उनीहरू युद्ध लड्न हिंडेका सैनिक झैं देखिन्छन्।
ड्रुक्पा गुम्बा ३५० जना महिला भिक्षुहरूको घर हो। उनीहरूले त्यहाँ पशुपक्षी पनि पालेका छन्। कतिपयलाई सडकबाट उद्धार गरेका छन् भने कतिपय कसाइकाबाट ल्याएका छन्। महिलाहरू पानी, बत्ती, सिकर्मी, डकर्मी सबैको काम गर्न सिपालु छन्। स्थानीय कोही बिरामी परे भने उनीहरूलाई प्राथमिक उपचार पनि गरिदिन्छन्।
‘भिक्षु हुने काम गतिलो होइन भन्ने मानिसहरूको धारणा हामीले गरेको कामको कारण परिवर्तन भएका छन्। हामीले हाम्रो धर्मको मात्रै होइन सिंगो समाजको ख्याल राखेका छौं’ २८ वर्षीय भिक्षु जेकित ल्हामो भन्छिन्।
यी भिक्षुहरूको कर्मले काठमाडौंका धरै महिलालाई प्रेरित गरेको छ। ‘महिला भिक्षुहरूलाई हेर्दा मलाई पनि उनीहरू झैं बन्न मन लाग्छ। उनीहरू यति शालीन छन् कि सबै कुरा छोडेर उनीहरूको जीवनशैली बाँचौं जस्तो लाग्छ’, त्रिभुवन विश्वविद्यालयकी विद्यार्थी अन्जली शाहीले भनिन्।
हरेक दिन त्यस गुम्बामा आउनका लागि सयौंले सोधपुछ गर्छन्। कतिपयले मेक्सिको, आयरल्याण्ड, जर्मनी र अमेरिकाबाट पनि सोधपुछ गरेका छन्। ‘बाहिरबाट यो आकर्षित देखिए पनि सबैले यो शैली अपनाउन सक्दैनन्। यो निकै कठिन छ’ भिक्षु जिङ्म याङ्चेन ग्यामो भन्छिन्।
भिक्षुको जीवनशैली धेरै कठोर नियमले बाँधिएको उनको भनाइ छ। ‘हामी यस्तो कठोर नियमको पालना गरिरहेका छौं कि हाम्रो लुगामा खल्ती राख्दा पनि हामी समस्यामा पर्न सक्छौं’, उनले भनिन्।
हालैको एक दिन भिक्षुहरू बिहान ३ बजे उठेर छात्रावासमा ध्यान सुरू गरे। झिसिमिसे बिहान अघि नै उनीहरू गुम्बा पुगे। त्यहाँ पनि मन्त्रोच्चारणसहित प्रार्थना भइरहेको थियो। पलेंटी कसेर बसेका भिक्षुहरूले मन्त्रोच्चारणका लागि आइप्याडको सहारा लिए। कागजको प्रयोग घटाउनका लागि उनीहरू यसो गरिरहेथे। त्यसपछि उनीहरूले एकैतालमा भजन सुरू गरे। रंगीन मन्दिर ढोलक, नरसिंह र घण्टीका ध्वनिले थप गुञ्जायमान भयो।
त्यसपछि उनीहरू गुम्बामा भेला भए। त्यहाँ भेटिइन्, जिग्मेद नाम्दाक डोल्कर। उनमा १२ वर्षको हुँदा ड्रुक्पा भिक्षु हुने मनोभाव जागेको थियो। उनले आफ्ना काकालाई आग्रह गर्दा काकाले अस्वीकार गरे। चार वर्षपछि भिक्षुहरू उनको गाउँमा पुगेका थिए। त्यसपछि तीनै टोलीसँग आएकी उनी हालसम्म घर फिरेकी छैनन्।
घरबाट भागेको सात वर्ष भइसक्यो, ६ वर्षसम्म कुङ्फु खेल्दा कस्तो अनुभव गरिरहेछौ ? यो प्रश्नको जवाफमा उनले भनिन्- ‘असाध्यै गौरव र स्वतन्त्र महसुस गरिरहेकी छु। अहिले त म निकै आत्मविश्वासी छु। म जे पनि गर्न सक्छु भन्ने भावना जागृत भएको छ’, उनले भनिन्।
प्रतिक्रिया 4