
२२ फागुन, काठमाडौं । फागु पूर्णिमाको अवसरमा धुलिखेल जिपलाइनमा रमझम सुरु भएको छ । होली मनाउने क्रममा धुलिखेल पुगेका युवायुवती रङ खेल्दै जिपलाइनमा रमाएका छन् । फागु पूर्णिमाको अवसरमा जिपलाइनमा २० प्रतिशत छुट दिइएको छ ।
क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वर्ल्ड वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष पूरा भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो ।
धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन असौत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।
करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी तथा जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ । जिपलाइनको शुल्क क्लासिक (साधारण) जिपलाइनमा २५ सय रुपैयाँ, सुपरम्यान जिपलाइनमा पैंतीस सय रुपैयाँ र टेन्डम (जोडी) जिपलाइनमा ४५ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4