
२२ फागुन, कञ्चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्वभन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ ।
माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको छ ।
फागुपूर्णिमापछि सो समुदायमा होलीको निकै रौनक छाउँने गर्दछ । गाउँभरिका महिला पुरुष वृद्धदेखि बालकसम्म सबैजना रातदिन होली खेल्छन् । माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुवात गरिन्छ ।
माघ पूर्णिमादेखि फागन पूर्णिमासम्म जीउँदो होली र फागुन पूर्णिमापछि आठ दिनसम्म मृत होली खेल्ले परम्परा रहेपनि पछिल्ला वर्षमा होली खेलिने समय छोट्टिदै गएको राना समुदायका अगुवा बताउँछन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेब रानाले होली खेल्ले समय छोट्टिदै गएको बताए । ‘परम्परा अनुसार यो समयमा हाम्रो समुदायमा होलीको रौनक हुनुपर्ने हो।’ उनले भने, ‘३८ दिनसम्म लगातार दुई चरणमा खेलिने होली अन्य समुदायको जस्तै तीन÷चार दिनमा समिति हुने गरेको छ।’ उनले पछिल्लो पुस्ताले अन्य समुदायको सिको गर्दै दुई÷तीन दिनमात्रै होली खेलिने गरेको बताए ।
‘पहिला रातभर पनि महिना दिनसम्म होली खेलिन्थ्यो अहिले त्यो रौनक देखिदैन ।’ उनले भने, ‘अहिले त होली गाउने मान्छे पाउनै मुस्किल छ।’माघ पूर्णिमाका दिन गाउँका दाजुभाइ गुइँठा, काठ दाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् ।
गाउँको चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्रीसहित यसरी होली राख्ने परम्परागत चलनलाई रानाथारु भाषामा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको सो समुदायका जानकारहरु बताउँछन्।
प्रतिक्रिया 4