+
+
राष्ट्रपति निर्वाचन :

ढुक्क पौडेल, ढुकढुकमा नेम्वाङ

उम्मेदवारी दर्ता गर्दा नै ८ दलको समर्थन पाएका कारण कांग्रेस उम्मेदवार पौडेल चुनावी परिणामलाई लिएर धेरै चिन्तित छैनन् । तर समर्थक दलको भोट अर्का उम्मेदवारतिर क्रस नहोस् भन्नेमा सचेत छन् । एमाले नेताहरु भने साना र स्वतन्त्र सांसदहरुको मत समेत आफ्नो पक्षमा रहेको दाबी गर्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ फागुन २२ गते २०:३७

२२ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मौन अवधि आज (सोमबार) राति १२ बजेदेखि सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

मौन अवधि सुरु हुनुअघि कांग्रेसका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल आफूलाई समर्थन गरेका दलका नेताहरुसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा पुगे । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरुलाई भेटेर उनले मत मागे ।

अर्का उम्मेदवार एमालेका सुवास नेम्वाङले पनि मौन समय सुरु हुनुअघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षमा मत मागेका छन् । भेटमा नेम्वाङले दुबै संविधानसभामा सभाध्यक्ष भएर काम गरिसकेको आफूलाई सघाउन आग्रह गरेका थिए । देउवाले भने कांग्रेसको आफ्नै उम्मेदवार रहेकोस्मरण गराए ।

दुबै उम्मेदवारले सबै मतदाता (संघीय र प्रदेशका सांसदहरु)लाई पत्र लेखेर मत मागेका थिए । संघीय संसदमा रहेका सबै दलका शीर्ष नेताहरुलाई भेटेर सहयोग मागेका छन् ।

संघीय संसदमा रहेका १२ मध्ये ८ दल पौडेलको प्रस्तावक÷समर्थक नै बसेका छन् । कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन छ । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई भेटेर आफूलाई मत दिन आग्रह गरेका छन् ।

त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा पौडेलको पक्षमा भोट मागेका थिए ।

एमाले नेताहरुले पनि संघीय संसदमा भएका सबै दलका नेताहरुलाई भेटेर नेम्वाङलाई मत मागेका छन् ।

दुवै उत्साही

१३ फागुनमा उम्मेदवारी दर्ता भएको राष्ट्रपति चुनावको औपचारिक प्रचारप्रसार १७ फागुनदेखि सुरु भएको थियो । त्यसयता सबै दलका नेताहरुलाई भेटेका उम्मेदवारद्वय पौडेल र नेम्वाङ दुबै उत्साहित देखिएका छन् ।

उम्मेदवारी दर्ता गर्दा नै ८ दलको समर्थन पाएका कारण कांग्रेस उम्मेदवार पौडेल चुनावी परिणामलाई लिएर धेरै चिन्तित छैनन् । तर समर्थक दलको भोट अर्का उम्मेदवारतिर क्रस नहोस् भन्नेमा सचेत छन् । त्यसका लागि ८ दलले सातवटै प्रदेशमा सांसदहरुका लागि अभिमूखीकरण कार्यक्रम नै राखेका थिए ।

नेम्वाङलाई हालसम्म एमालेको मात्रै समर्थन गरेको छ । तथापि आफू उत्साही रहेको नेम्वाङ बताउँछन् । दुई पटक संविधानसभाको अध्यक्ष भएका पूर्व सभामुख नेम्वाङको धेरै मतदाता अर्थात संघीय र प्रदेश सांसदहरुसँग व्यक्तिगत सम्बन्ध छ । नेताहरुका अनुसार सबै मतदातासँग नेम्वाङले एकसरो टेलिफोन सम्वाद समेत गरेका छन् । एमाले नेताहरुले उत्पीडित वर्गको प्रतिनिधिका रुपमा प्रोजेक्ट गर्दै अर्को गठबन्धनको भोट तान्ने प्रयास गरेका छन् ।
रास्वपा र राप्रपाको पनि मत पाउने आश नेम्वाङको छ । ‘राप्रपा र रास्वपा)सँग पनि संवाद गरेको छु । सकारात्मक जवाफ पाएको छु’, नेम्वाङले अनलाइनखबरसित भने ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा सदस्य (५९ जना), प्रतिनिधि सभाका सदस्य (२७५ जना) र सातवटै प्रदेशका प्रदेशसभा सदस्य (५५० जना ) मतदाता हुन्छन् । प्रतिनिधिसभामा हाल एक सिट रिक्त छ भने एकजना निलम्बनमा छन् । बाँकी २७३ जनाले मतदान गर्न पाउँछन् । समर्थक दलका संघ र प्रदेशका सांसदहरुको संख्या हेर्दा कांग्रेस पौडेललाई सुविधाजनक बहुमत छ ।

तर राष्ट्रपतिको निर्वाचनमा मतदान गोप्य हुने भएकाले एमाले नेताहरुले आश मारेका छैनन् । एमालेका एक पदाधिकारीका अनुसार रास्वपा र राप्रपाले समर्थन गर्ने हो भने पनि राष्ट्रपतिका लागि नेम्वाङलाई केही हजार भोट पुग्दैन, जुन पौडेललाई समर्थन गरेका दलकै सांसदहरुबाट तानेर पु¥याउने एमाले नेताहरुको प्रयास हुनेछ । ‘गणितको हिसाब बेग्लै छ, तर ३२ वटा दललाई मिलाएर संविधानसभ बनाउन भूमिका खेलेको, संविधानलाई बुझेको, विवादभन्दा माथि रहेको उहाँ सबै हिसाबले योग्य हो’, एमालेका एक पदाधिकारी भन्छन्, ‘उहाँलाई जिताउन हामीले अन्तिम कोशिश गरिरहेका छौं ।’

परिस्थिति बुझ्दै राप्रपा र रास्वपा

तर रास्वपा र राप्रपाले राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भनेर निर्णय गरिसकेका छैनन् ।

एमालेप्रति नरम रहेको राप्रपा राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्नेमै प्रष्ट भइसकेको छैन । संवैधानिक राजतन्त्रको एजेण्डा बोकेकाले राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने मत पनि छ । तर अध्यक्ष राजेन्द्र लिङ्देन मौन छन् । राप्रपा अध्यक्ष लिङदेन भन्छन्, ‘मतदान गर्नु अगाडि हामी आफ्नो निर्णय सुनाउछौं ।’

रास्वपाले पनि निणय गरेको छैन । रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार २४ गते बेलुकीसम्म वा २५ गते बिहान मात्रै औपचारिक निर्णय हुनसक्छ । उनका अनुसार रास्वपाले कुनै एक उम्मेदवारको पक्षमा मतदान गर्ने वा सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने दुबै सम्भावना छ ।

आ-आफ्नै हिसाब

राष्ट्रपति निर्वाचनमा राप्रपाको २ हजार २१० र रास्वपाको १ हजार ५०१ मतभार छ । एमालेको मतभार १५ हजार २८१ छ । नेम्वाङले राप्रपा र रास्वपाको मत पाउँदा करिब १९ हजार (१८ हजार ९९२) मतभार पुग्ने एमालेको हिसाब छ ।

कुनै उम्मेदवारको पक्षमा नखुलेको नेमकिपाको २२३, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र सांसदहरुको मतभार १२८७ छ । साना र स्वतन्त्र सांसदहरुको मत समेत आफ्नो पक्षमा रहेको एमाले नेताहरुको दाबी छ । एमालेको दाबी अनुसार मतदान भएको खण्डमा नेम्वाङले पार्टीगत रुपमा २० हजार ५९८ मत पाउने देखिन्छ । यसो हुँदा नेम्वाङलाई चुनाव जित्न थप ६ हजार मत चाहिन्छ ।

किनकी राष्ट्रपति निर्वाचनमा कूल ८८४ जना मतदाता छन्, जुसको कुल मतभार ५२ हजार ७ सय ८६ हुन्छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

राष्ट्रपतिका अर्का उम्मेदवार पौडेलका समर्थक तथा प्रस्तावक दलहरु भने चुनावी नजितामा ढुक्क छन् ।

किनकी कांग्रेस एक्लैको मतभार १६ हजार २२१ छ । माओवादी केन्द्रको मतभार ७,७२८ छ । एकीकृत समाजवादीको २ हजार ४७८, जसपाको दुई हजार ९७, जनमत पार्टीको १,२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५ र राष्ट्रिय जनमोर्चाको १५८ मतभार छ । हाल गठबन्धनमा रहेका ८ दलसँग ३१ हजार ५१६ मतभार छ । जुन राष्ट्रपति निर्वाचनका लागि प्रयाप्त मतभार हो । तर राप्रपा र रास्वपा पनि समर्थन जुटाउन सक्ने भने हो राष्ट्रिय सहमति जस्तै सन्देश दिन सकिने कांग्र्रेस नेताहरुको बुझाइ छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?