
२३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले बैंकको ब्याजदरको विषयलाई लिएर बैंक तथा वित्तीय संस्थामाथि भइरहेका अवाञ्छित गतिविधि रोक्न सरकारसँग माग गरेको छ । ब्याजदरको विषयलाई लिएर बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि नियोजित ढंगले आक्रमण तथा लुटपाट हुनु दुःखद् भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्न सीबीफीनले माग गरेको छ ।
सीबीफीनले मंगलबार विज्ञप्ति जारी गर्दै ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, सावाँ समेत नतिर्ने धम्कीसहित कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको भन्दै सरकारसँग कारबाहीको माग गरेको हो ।
‘बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।
देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन सीबीफीनसले सबै पक्षसँग अपिल समेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः
प्रतिक्रिया 4