
२३ फागुन, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदमा हुनेले मर्यादा अनुसार काम नगर्दा नागरिकता ऐन बन्न नसकेको बताएकी छन् ।
महिला कानुन र विकास मञ्चले मंगलबार राजधानीमा गरेको ‘म बाट महिलावाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पदमा हुनेले मर्यादा भुल्दा नागरिकता ऐन बन्न नसकेको टिप्पणी गरेकी हुन् ।
संविधान जारी भएको लामोसमयसम्म नागरिकता ऐन बन्न नसक्नुको कारणहरुको ब्याख्या गर्दै उनले भनिन्, ‘जब हामी परीक्षण कालमा हुन्छौं, राम्रो पोजिशनमा हुन्छौं, हामी जुन पदमा हुन्छौं त्यो पदको मर्यादा अनुसार गर्न सक्ने कामहरु गर्दैनौं त्यो बेला अत्यन्तै पीडा हुन्छ ।’ नागरिकता नपाएकाहरु आफूकहाँ दुखेसो गर्न आउने गरेको र नागरिकता बिहीनहरुको बेदनाले आफू मर्माहत हुने गरेको अर्यालको भनाइ छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको नामै लिएर नागरिकता विधेयक रोकेको आरोप लगाएकी थिइन् । मंगलबार राष्ट्रपति भण्डारीको नाम नलिएरै जिम्मेवारीमा रहेका व्यक्तिले मर्यादा अनुसार काम नगर्दा ऐन बन्न नसकेको टिप्पणी गरेकी हुन् ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लामो समयसम्म छलफल भएर पनि नागरिकता ऐन बन्न सकेको थिए । प्रतिनिधिसभा र राष्ट्रिय सभाले दुई पटक पारित गरेर पठाउँदा पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमणीकरण गरिनन् ।
त्यसविरुद्ध परेको रिछ सर्वोच्च अदालतमा बिचाराधीन छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई लिएर राष्ट्रय सभाकी उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको निरन्तर आलोचना गर्दै आएकी छन् ।
प्रतिक्रिया 4