
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय शृंखला ‘जुठे’ले बुधबार १०० भाग मनाएको छ । काठमाडौंको गोल्फुटारमा आयोजित ‘सफलता समारोह’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी थिए । उक्त अवसरमा सिरियलले अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
१०० भाग मनाउन आयोजित समारोहको उद्घाटन गर्दै महजोडीले समाज सुधारका लागि जुठेजस्ता सामाजिक सन्देशमूलक टेलिभिजन श्रृंखलाको भूमिका महत्वपूर्ण हुने बताए । जातीय भेदभाव, थिचोमिचो र समानताका लागि सिरियलले दिएको सन्देश अनुकरणीय रहेको चर्चा उनीहरुले गरे । महजोडीले १०० भाग पुगेकोमा बधाई दिंदै बाँकी भागको लागि शुभकामना दिए ।
अर्गानिक कथावस्तुमा बनेको जुठेले पछिल्लो समय युट्युब ट्रेन्डिङमा समेत दबदबा कायम गरिरहेको छ । सक्सेस कार्यक्रममा अभिनेता तथा निर्देशक मरिचमान श्रेष्ठ बल्छी धुर्वेले कार्यक्रममा सहभागी महजोडी र केदार घिमिरे माग्ने बुढाको पाइला पछ्याउँदै आफूहरु अघि बढेको बताए । ‘उहाँहरुकै बाटोमा हिंडेर हामी यहाँसम्म आइपुगेका छौं । अझै राम्रो गर्दै जानेछौं,’ श्रेष्ठले भने ।
सिरियलका अभिनेता रवि गिरी वास्तविक निर्देशक समेत भएको भन्दै उनले ५० वर्षअघिको कथामार्फत आफूहरुले सामाजिक यथार्थ देखाउने प्रयास गरेको बताए । आगामी श्रृंखलामा नेपालीपन र सन्देशमूलक कथावस्तु समावेश गरिने उनले बताए । सिरियलले गत असारमा पनि लमजुङको राइनास नगरपालिका–८ स्थित माझी गाउँका बालबच्चालाई ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।
सिरियललाई राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका छन् । ‘जुठे’मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठको अभिनय छ ।
प्रतिक्रिया 4