
२४ फागुन, काठमाडौं । अफगानिस्तानमा सबै ठिकठाक चलिरहेको हुन्थ्यो भने योपल्ट सार्क महासचिव बन्ने पालो उसैको हुने थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्क भनेर चिनिएको यो क्षेत्रीय संस्थामा नयाँ सदस्य राष्ट्र बनेर भित्रिएको अफगानिस्तानले आफ्नो पालोमा महासचिव छान्न पाएन । तालिबान शक्तिमा आएका कारण उसले यो मौका गुमायो ।
उसको पालोमा अर्को सदस्य राष्ट्र बंगलादेशले मोहम्मद गोलम सरवारलाई महासचिव सिफारिस गरेको छ । भारत लगायत सार्कका केही देशले अफगानिस्तानको राजनीतिक परिवर्तनलाई अनुमोदन गरेका छैनन् ।
अंग्रेजी वर्णानुक्रम अनुसार सार्कमा महासचिव चुन्ने प्रथा छ । ए बाट अफगानिस्तानले महासचिव छान्न नपाएसँगै स्वतः बि अर्थात् बंगलादेशमा पालो गइहाल्यो । तर अफगानिस्तानलाई के गर्ने भन्ने बारेमा एक महिनासम्म अन्यौल रह्यो ।
नेपालको परराष्ट्र मन्त्रालयले यसका लागि झन्डै पाँच महिना गृहकार्य गरेको परराष्ट्र स्रोतले बतायो । ‘अफगानिस्तानको पालो भए पनि सबैको सहमति जुटेन,’ भारतीय पक्षलाई इंगित गर्दै ती अधिकारीले भने ।
महासचिव बनेका सरवार यसअघि बंगलादेशका तर्फबाट मलेसियाका लागि उच्चायुक्त थिए । उनले यसअघि सार्क सचिवालयमा पनि काम गरिसकेका छन् ।
उनी अघि श्रीलंकाका इशाला रुवान विराकोन सार्कका महासचिव थिए । उनको कार्यकाल फेब्रुअरीमै सकिइसकेको भए पनि नयाँ महासचिवको अन्यौल कायम रहेकाले ढिलोगरी सरवारको नाम आएको हो ।
हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । तर भारत पाकिस्तान बीचको मनमुटावका कारण यसको नियमित अधिवेशन हुन सकेको छैन ।
प्रतिक्रिया 4