
२४ फागुन, पोखरा । तनहुँबाट पोखरा आएर हस्तकला व्यवसायमा लागेकी सूर्यकुमारी पाण्डे ३ दशक बितिसक्दा पनि यसैमा रमाइरहेकी छन् । सुरुमा हस्तकलासम्बन्धी ३ महिने तालिम लिएर यो व्यवसायमा प्रवेश गरेकी उनी अहिले सन्तुष्ट छिन् ।
महिला सीप विकासमा हस्तकलाको ‘कटिङ’मा लागेकी पाण्डे जीवनयापनमूलक यस्ता तालिमले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याइदिएको सुनाउँछिन् । सुरुसुरुमा बजार पाउन मुश्किल विदेशबाट पनि माग बढ्न थालेपछि भने धेरै सहज भएको उनको अनुभव छ ।
‘पहिले धेरै सामान त बनाउँथ्यौं । तर, बिक्री वितरण गर्न गाह्रो थियो । अहिले नेपालका विभिन्न ठाउँमात्रै नभएर विदेशबाट पनि माग हुन थालेपछि भने सजिलो भयो’, खुसी बाँड्छिन्, ‘हामी जान नपाएपनि हाम्रो सीप बाहिर जाँदा, उनीहरुले मन पराउँदा साह्रै खुसी लागेको छ ।’
तनहुँबाटै पोखरामा आएर सीप विकाससँग जोडिएकी पञ्चमाया गुरुङ पनि यो हस्तकलामा लागेको २० वर्ष भयो । सुरुमा श्रीमानले तालिम लिन पठाएकी उनी अहिले आफ्नो खुट्टामा आफैं उभिनमात्रै सफल भइनन्, आफ्नै कमाइले छोराछोरीलाई विदेशमा पढाउन पनि सकिन् । ‘अहिले त मलाई यो काम धेरै सजिलो र राम्रो लाग्छ । धेरै गर्न सकिनँ होला । तर, छोराछोरीको इच्छाअनुसार विदेश पठाउन सकें, खुसी लागेको छ’, उनले भनिन् ।
पोखरा लेकसाइडकी ज्ञानशोभा गुरुङ पनि आफ्नै कमाइले छोराछोरीलाई शिक्षादिक्षा दिन सफल छिन् । २१ वर्षअघि सिर्जनाचोकमा रहेको महिला सीप विकासमा तालिम लिएकी उनले यसैबाट हुने आम्दानीले सन्तुष्ट छिन् ।
‘सुरुमा तान बुन्न सिकें । अलि वर्षपछि रङ र त्यसपछि कटिङमा गएँ । अहिले सिलाइकटाइ पनि जान्दछु’, ज्ञानशोभा भन्छिन्, ‘परिवारलाई अलिअलि भा पनि थपथाप गरिदिन पाएँ, सहयोग भयो । योभन्दा धेरै गर्न सकिनँ होला, यसैमा सन्तुष्ट छु ।’
नेपालमा उत्पादित हस्तकला अन्तर्राष्ट्रिय बजारमा राम्रो माग हुँदै आएको उनीहरु बताउँछन् । महिला सीप विकासबाट उत्पादित हस्तकला अमेरिका, जर्मन, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत देशमा निर्यात हुँदै आएको छ ।
तर, आफूले उत्पादन गरेर वस्तुको उचित बजार मूल्य नपाउँदा भने उनीहरु केही दुखी छन् । ‘महंगी बढेको बढ्यै छ । तर, त्योअनुसार मूल्य नपाउँदा केही गाह्रो त भएको छ । नत्र, नेपालमै भनेकोजस्तो मूल्य पाउने हो भने यसको पनि बजार राम्रो छ’, पञ्चमाया गुरुङ भन्छिन् ।
‘कोभिडपछि बजार खस्कियो’
पोखराका विभिन्न क्षेत्रमा निशुल्क तालिम सञ्चालन गरेर तालिम पश्चात रोजगार दिँदै आएको महिला सीप विकास संस्थामा कोभिड महामारीभन्दा अगाडि प्रत्यक्ष ६ सय जनाले रोजगार पाइरहेका थिए । उनीहरुले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी पनि गर्दै आइरहेका थिए ।
तर, कोभिड महामारीपछि बजार चलायमान हुन नसक्दा ४ सयभन्दा बढी महिला हातमा सीप भए पनि फेरि बेरोजगार हुन पुगेका छन् । कोभिड महामारी मत्थर भएको एक वर्ष पुग्दा पनि कार्यालय नै बन्द गरेर बस्नुपरेको सूर्यकुमारी पाण्डे सुनाउँछिन् ।
‘कोभिडले हाम्रो व्यवसायलाई एकदमै असर गर्यो । अफिस नै बन्द गरेर बस्नुपर्यो । काम पनि भएन’, पाण्डेले भनिन्, ‘पोखरामा सबैको घर छ भन्ने हुँदैन, भाडामा बस्ने पनि छौं । कोभिडकालमा ऋण, सापटी गरेरै गुजारियो ।’
धान्नै मुश्किल हुने गरी बजार पाइरहेको बेला कोभिडपछि भने सबै कम भएको ज्ञानशोभा गुरुङले अनुभव सुनाइन् । ‘अहिले त बिजनेस नै छैन । त्यही पनि बजार भर्खर राम्रो हुँदै गएकाले केही आशावादी भने छौं’, उनले भनिन् ।
महिला सीप विकास संस्थाले बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको छेकोमा पोखरा सभागृहमा हस्तकला प्रदर्शन गरेको थियो । सोही कार्यक्रमा उनीहरु आफूले उत्पादन गरेका हस्तकला प्रदर्शन गर्न आएका थिए ।
प्रदर्शनीमा नेपाली कच्चा पदार्थ प्रयोग गरेर बनाइएका फूलदानी, झोला, पर्स, प्राकृतिक रङ प्रयोग गरिएको हस्तनिर्मित कार्पेटलगायत १५ वटा टेबलमा हस्तकलामा सामान प्रदर्शनमा राखिएको थियो ।
प्रतिक्रिया 4