
२५ फागुन, काठमाडौं । निजी डेरीहरुले दुग्ध पदार्थको उपभोक्ता मूल्यमा मनोमानी मूल्य निर्धारण गरेका छन् । बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।
उनीहरुले पनिरको मूल्य किलोमा १४० रुपैयाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा २०० रुपैयाँले बढेको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको छ ।
सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सतापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्य कुनै मापदण्ड विनै वृद्धि गरेका हुन् । नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।
यस्तै दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दूधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुने बताए । अन्य दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वयनमा आउने छ ।
‘सरकारले किसानले पाउने मूल्य बढाएसँगै अब दूधको मूल्य एक सय रुपैयाँ पुगेको छ,’ दाहालले अनलाइनखबरसँग भने, ‘निजी डेरीहरुले नयाँ मूल्य उपभोक्ताबाट लिन सुरु गरिसकेका छन् । पहिले भन्दा लिटरमा १४ रुपैयाँले दूधको मूल्य बढेको छ ।’ दाहालका अनुसार एक लिटर दूधको मूल्य १४ रुपैयाँले बढे पनि आधा लिटरको पाउचको दूधको मूल्य भने ५० रुपैयाँ मात्रै कायम भएको बताए ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दूधको मूल्य वृद्धि बिहीबारदेखि लागू गरिएको बताए । ‘अब देशैभर शुक्रबारदेखि दूध नयाँ मूल्यमा खरिद बिक्री हुन्छ,’ उनले भने, ‘दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वनयमा आउने छ ।’ दाहालकाअनुसार दूधको मूल्य वृद्धिमा ३० प्रतिशत उद्योगीका लागि र ७० प्रतिशत हिस्सा किसानलाई जाने दाबी गरे । हाल तोकिएको दूधको मूल्य ४ प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) युक्त रहेको पनि संघको दाबी छ ।
निजी क्षेत्रको नयाँ मूल्य वृद्धिसँगै सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य बढाउने गृहकार्य थालेको छ ।
संस्थानको बिहीबार बसेको बोर्ड बैठकमा मूल्य बढाउनेबारे छलफल भएको महाप्रबन्धक सञ्जिव झाले बताए । ‘हामी गृहकार्य गर्दैछौं, मूल्य वृद्धिका लागि मन्त्रालयलाई पत्राचार गर्छौं ।’ अर्को साता डीडीसीको दूधको मूल्य बढ्न सक्ने उनले बताए ।
दुग्ध पदार्थको नयाँ मूल्य विवरणः
दुग्ध पदार्थ | हालको मूल्य रुपैयाँ | बढेपछिको मूल्य | वृद्धि गरिएको मूल्य रु. लिटर/किलो |
दूध | ८६ | १०० | १४ |
दही (बट्टाको) | १६५ | १९० | २५ |
दही (सादा) | ११० | १३० | २० |
पनिर (किलो) | ७०० | ८४० | १४० |
बटर (किलो) | ८५० | १००० | १५० |
खारेको घिउ (किलो) | ११०० | १३०० | २०० |
स्रोत : डेरी उद्योग संघ/नेपाल डेरी एसोसिएसन
प्रतिक्रिया 4