
२५ फागुन, काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र बृहत् नागरिक आन्दोलनले बिहीबार जनकपुरमा प्रदर्शन गरेको छ ।
जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनमा संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु-महाजनले फर्जी कागजातको भरमा अदालतमार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए ।
‘अहिले मिटरब्याजका सबै फर्जी तमसुकमार्फत किसानको भूमि हडप्ने र उनीहरुलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रक्रिया तीब्र पारिएको छ’, कुशवाहले भने, ‘बदनियतपूर्वक किसानको भूमि खोस्ने कार्य भए संघर्ष समिति जस्तोसुकै आन्दोलनमा जान बाध्य हुनेछ ।’
मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिका सप्तरी अध्यक्ष बिन्दु साहले मिटरब्याजकै कारण आफू भूमिहीन भएको बताए । ‘अहिले मसँग कुनै जग्गा छैन र म पूर्ण रुपले भूमिहीन भएको छु । यो मेरो व्यक्तिगत समस्या होइन, अहिले आन्दोलन अघि बढेपछि किसानले धमाधम भूमि गुमाइरहेका छन्, सहज रुपले ऋण पाउन सकेका छैनन् र पूर्ण रुपले राज्यविहीनताको स्थिती भोगिरहेका छन्’ उनले भने ।
यसअघि सरकारले संघर्ष समितिसँग गरेको ५ बुदे सहमति कार्यान्वयन नगरेर किसानलाई धोका दिएको प्रवक्ता निर्ग नवीनले बताए । कार्यक्रममा सामाजिक अभियन्ता डा. कृष्ण पौडेलले हाल किसान र मजदुरले बहुआयामिक समस्या सामना गरिरहेको बताएका थिए ।
प्रतिक्रिया 4