
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनु पर्छ भन्ने नरहेको बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनु पर्छ भनेको खबर आफूले पढेको भन्दै खड्काले त्यो भनाइ संविधान अनुकुल नरहेको बताएका छन् ।
शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको बताए ।
नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए ।
‘फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति/उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाको विपरीत निर्वाचन आयोगले निर्णय गरेको छ,’ खड्काले भने, ‘अनलाइनहरुमा हेरेँ, प्रमुख आयुक्तले बोल्नुभयो भन्ने खबर आएको छ । उहाँले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल छैन ।’
उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा कार्यदलको बैठक बसेको बताए । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।
उनले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पारे । ‘उपराष्ट्रपतिको बारेमा अहिले हाम्रो कुनैपनि छलफल भएको छैन, चाँडै नै हामी राष्ट्रपति निर्वाचनसँग जोडिएका दलहरुको प्रमुख नेताहरुको बैठक बसेर उपराष्ट्रपति उम्मेदवारको बारेमा निर्णय गर्नेछौँ,’ उनले भने, ‘दरखास्त दिने समय भन्दाअघि हामी सर्वसम्मतिले टुंगो लगाउँछौँ ।’
उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने समझदारी आन्तरिक छलफलको विषय रहेको खड्काले बताए । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । बिहीवार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया 4