
२६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा मालबाहक सवारी साधन पार्किङ गर्न र सामान लोड अनलोड गर्न नपाउने भएको छ । शुक्रबार इन्टरमोडल यातायात विकास समितिको आयोजनामा चोभार सुक्खा बन्दरगाहमा आन्तरिक टर्मिनल सञ्चालनबारे भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो जानकारी गराएको हो ।
उपत्यकाका स्थानीय तह, प्रहरी तथा ट्राफिक प्रहरी र ढुवानी व्यवसायीसहितको छलफलमा काठमाडौं महानगर र उपत्यका ट्राफिक प्रहरी कार्यालयले अब सडकमा ढुवानीका सवारी पार्किङ गर्न र सामान लोड अनलोड गर्न नदिने जानकारी गराएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्का र उपत्यका ट्राफिक कार्यालयलका प्रहरी उपरीक्षक अविनारायण काफ्लेको भनाइ उदृत गर्दै इन्टर मोडलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं प्रवेश गर्ने ढुवानीका साधनहरुलाई आगामी दिनमा सडक किनारामा पार्किङ गर्न तथा सामान लोड अनलोड गर्न दिइने छैन । त्यसका लागि चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल प्रयोग गर्ने आग्रह गरिने छ ।’
छलफलमा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सक्खा बन्दरगाहमा उपलब्ध सेवा, सुविधाका साथै सेवा सुविधा उपयोग गरे वापत सेवाग्राहीले तिर्नु पर्ने सेवा शुल्कका बारेमा जानकारी गराएका थिए ।
छलफलमा काठमाण्डौं महानगरपालिका, कीर्तिपुर नगरपालिकका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ललितपुर महानगरनगर प्रहरी प्रमुख, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, दुवानी व्यवसायी महासंघ नेपाल, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी थिए ।
प्रतिक्रिया 4