
२७ फागुन, जनकपुरधाम । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको ५ ।
‘हिजो घरमा मृत्यु भएपछि हामीलाई खबर आयो । हामी पुगेर अनुसन्धान सोधपुछ थाल्यौ । परिवारजनले बुधबार साँझ कुटपिट भएको भन्यो । बुधबार बिहीबार प्रहरीलाई खबर गरेन । उपचारको लागि पनि लगिएन । अनुसन्धान गरिरहेकमा छौं,’ एसपी वीरबहादुर बुढामगरले भने ।
घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिए ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवका अनुसार सुस्त मनस्थिति (राम्ररी बोल्न नसक्ने) दासले एक चार वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट समान्य घाइते भएको लागेर उनलाई उपचारको लागि लगिएन भने प्रहरीलाई जानकारी समेत दिइएन । मृत्यु पश्चात बिहीबार अपराहन्न साढे ४ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि लगिएको थियो । पोस्टमार्टम रिपोर्ट आए पश्चात के कति कारणले मृत्यु भएको खुल्ने डिएसपी यादवले बताए ।
कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया 4