
२७ फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको टिप्पणी गरेका छन् ।
शनिबार नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको बताएका हुन् । ओलीले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको भन्दै नेपालका पुर्खाहरु जति विद्वान अन्यत्र कतै नरहेको दाबीसमेत गरे ।
‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन् । हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे । कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए’ उनले भने ।
ओलीले अगाडि भने, ‘२६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घखाँचीका थिए । यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ । यो इतिहासमा पनि विद्वानहरुको भूमि हो । भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ ।’
उनले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताए । नेपाल ज्ञानको उत्पत्ति विन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको उनको टिप्पणी छ ।
प्रतिक्रिया 4