२८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
शृङ्खलाको पहिलो खेलमा पनि नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै उच्च स्कोर बनाएको थियो ।
आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन पनि गरिएको छ । ब्याटर ज्ञानेन्द्र मल्ल र बलिङ अलराउण्डर करण केसी प्लेइङ ११ मा छैनन् । करण र ज्ञानेन्द्र क्रमश: १३ र १४ नम्बरमा छन् ।
उनीहरूको ठाउँमा ललित राजवंशी र गुलशन झाले खेल्ने छन् ।
आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ ।
पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ ।
यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ ।
सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ । यूएईका लागि पनि ओडीआई मान्यता जोगाउने नेपालविरुद्धको खेल जित्नैपर्ने अवस्थामा छ । यूएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ ।
नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ ।
यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।
नेपाली टिम
रोहित पोडेल, दीपेन्द्र ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा र सन्दीप लामिछाने
प्रतिक्रिया 4