
एक वर्षयता प्रधानन्यायाधीशले इजलास गठन गर्न र त्यसै अनुसार मुद्दा तोक्ने अवस्था छैन । अहिले गोला प्रणाली लागू भएकाले केही सुधार देखिएको छ । हामीले पनि यो पद्धतिमा विश्वास गर्नैपर्छ ।
तर अहिले पनि मलाई अदालत प्रशासनबाट पेशी दिने क्रममा कतै न कतै त्रुटि छ कि भन्ने लाग्छ । किनभने प्रशासनबाट ढिलो हुनेगरी पेशी दिंदा मुद्दाले समयमा पालो नपाउने समस्या हुनसक्छ ।
सर्वोच्च अदालतमा न्यायाधीशहरू र न्याय प्रशासनका बीचमा ठूलो खाडल छ । पेशीको मिति तोक्ने काम गोला प्रक्रियासँग सम्बन्धित नभएकाले अदालतको फाँटका कर्मचारीहरूले चलखेल गर्न सक्छन्, त्यसबाट समस्या हुनसक्ने देखिन्छ ।
कतिपय मुद्दा संवेदनशील प्रकृतिका हुन्छन् । त्यस्तो अवस्थामा अदालतको फाँटबाट फाइलमा अस्वाभाविक ढिलाइ भएको हुन्छ । इजलासले त्यो मुद्दामा केही कागजात छुटेको रहेछ भने मिसिल सामेल नभएको भनी मुद्दा अघि बढाउँदैन ।
अदालत प्रशासनले न्याय निरुपणमा सहजीकरण गर्नुभन्दा पनि कतिपय अवस्थामा मुद्दाको पक्षलाई हित हुने गरी काम गरेको छ कि भन्ने देखिन्छ । इजलासले मुद्दाको व्यवस्थापन र मिसिलको अपूर्णतामाथि प्रश्न उठाएर सुधारको पहल गरेको छैन । बारम्बार यस्ता घटनामा संलग्नहरूलाई नसिहत दिन सकेको छैन । यो सवालमा सूक्ष्म अध्ययनको जरूरी छ ।
इजलासमा पुगेका सबै मुद्दाले पालो पाउँछन् भन्ने छैन । पालो नपाएर पनि मुद्दाको सुनुवाइ रोकिन्छ । मुद्दाबाट मलाई अप्ठेरो छ भनेर महसुस गर्ने पक्षले मिलिभगत गर्न र सुनुवाइमा विलम्ब बनाउन खोज्छ । यस्ता चलखेललाई प्रधानन्यायाधीशले कसरी हेरेको छ ? कतिको निगरानी गरेको छ ? कति ढिलाइ गरेको छ ? यसले पनि मुद्दाको सुनुवाइको तदारुकता निर्धारण हुन्छ ।
अदालतमा आज सुनुवाइ हुने भनिएका मुद्दा त गोला प्रक्रिया अनुसार पेशी निर्धारण हुन्छन् । तर कस्तो मुद्दालाई कसरी र कति प्राथमिकता दिने भन्ने विषय एकपछि अर्को गर्दै हेर्नुपर्छ । त्यसक्रममा त्रुटि वा कमजोरी भएको हुनसक्छ ।
केही दिनअघिको कुरा हो, अग्राधिकार पाएको मेरो मुद्दा नै १६ नम्बरमा परेको थियो । अग्राधिकार दिएकै मुद्दा त्यति पछाडि पर्छ भने त्यो मुद्दामा अग्राधिकार दिएको भन्नु र नभन्नुमा के फरक रहृयो र ? अग्राधिकार पाएका मुद्दाले समेत कम प्राथमिकता पाएका छन् ।
अहिले इजलासहरूले केही कडाइ त गरेका छन् तर बारम्बार कानुन व्यवसायीहरूले मुद्दा हटाएका कारण पनि न्यायनिरुपणमा ढिलाइ भइरहेको छ । कतिपय मुद्दामा ढिलाइ गर्नकै लागि न्यायाधीशसँग मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीहरूको वकालतनामा राखेर जुधाएर राखिदिने प्रवृत्ति बढिरहेको छ ।
धेरै प्रतिवादी भएको मुद्दामा पनि छिटोछरितो सुनुवाइमा समस्या देखिने गरेको छ । एउटैले चार/पाँच जना कानुन व्यवसायी राखेका हुन्छन् । कहिले कोबाट, कहिले कोबाट मुद्दा हटाउने गर्दा समस्या भइरहन्छ । ढिलाइका लागि कारक मानिएका यस्ता कमजोरीलाई अदालतले नियन्त्रण गर्न सकिरहेको छैन ।
५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा बारम्बार रोकिएको छ । तिनीहरू शक्तिशाली भएकाले शक्तिको आडमा अदालत प्रशासनमा तरिका मिलाएर मुद्दामा अस्वाभाविक ढिलाइ गरिरहेका छन् । कागजात मगाउन भइरहेको ढिलाइमा त मैले इजलासमा नै गएर झगडा गर्नुपरेको छ ।
यस्ता मुद्दामा ६/८ महिनापछि पेशीको पालो दिएको हुन्छ । त्यसैमाथि मुद्दाको पक्ष चतुर भएर अर्को चलखेल गर्छ । मुद्दाको पक्षले अदालतका साना र निकै न्यून भूमिका भएका कर्मचारीहरूसँगको मिलेमतोमा मुद्दामा अस्वाभाविक ढिलो गरिदिन्छन् ।
न्यायाधीशहरूलाई पनि कतिपय संवेदनशील मुद्दाको न्याय निरुपणमा पटक्कै रुचि हुँदैन । ‘यो मुद्दा मैले छिनें भने मलाई भोलि अप्ठेरो पर्छ’ भनेर महसुस गर्ने न्यायाधीशहरूले अनेकन् कारण देखाएर सुनुवाइमा ढिलाइ गरिरहेका हुन्छन् । कुनै कारण नभेटे मिसिलमै भएको कुनै फाइल वा कागज मगाउने आदेश गरेर मुद्दा लम्ब्याइदिन्छन् ।
इजलासबाट एउटा आदेश गर्नु भनेको कतिपय अवस्थामा ६/८ महिना मुद्दा धकेल्नु हो । उस्तै परे कागज र मिसिलको गोलचक्करमा वर्षदिनसम्म पनि मुद्दा हराउँछ । संवेदनशील मुद्दा अघि बढाउने वा टुंग्याउने हिम्मत नभएका न्यायाधीशले त्यसो गरेका हुनसक्छन् । कतिपयले स्वार्थ मिलेकाले पनि त्यस्तो गर्छन् ।
अहिले गोला प्रक्रिया सुरु भएकाले कुन मुद्दा कुन इजलासमा पर्छ र त्यहाँ को न्यायाधीश पर्छन् भन्ने अनुमान गर्न कठिन छ । तर कोही कोही न्यायाधीश ज्यादा चलाख भएर ‘मेरो इजलासमा मुद्दा पर्यो भने धन्दा नमान्नु अघि बढाउँदिनँ’ भनेर पहिले नै आश्वासन दिएको समेत मैले सुनें । हामीकहाँ भनसुन गर्ने चलन निकै स्वाभाविक मानवीय प्रवृत्ति भइसकेको छ ।
अदालतमा मुद्दा परेका र शक्तिमा भएकाहरूले न्यायाधीशहरू बीच नै चलखेल गर्छन्, त्यस्तो कुरा सुनिएको पनि छ । पहिले नै प्रभावमा परेका न्यायाधीशलाई मुद्दा अघि बढाउनुपर्छ भनेर जोडबल र जबर्जस्ती गर्न पनि सकिंदैन । आवश्यक नै नभएको आदेश गरेर पनि मुद्दा लम्ब्याइदिने गरेका उदाहरण छन् ।
अदालतले औचित्य सकिएपछि हेरेर मुद्दा टुंग्याएका एक/दुई हैन, कैयौं उदाहरण छन् । २०७० सालमा चुनावी सरकारको नेतृत्व गरेका प्रधानन्यायाधीश खिलराज रेग्मी विरुद्धको मुद्दा उनको पदावधि सकिएपछि टुंगियो । अदालतले औचित्य सकिएको भन्दै रिट निवेदन खारेज गरिदिन्छ । यस्तो हुँदा न्यायाधीशहरूलाई पनि निकै सजिलो हुन्छ ।
न्याय मागेर अदालतको ढोकामा पुगेकाहरूलाई ढिलो न्याय दिनु र न्याय नदिनु एउटै हो । औचित्य सकिएपछि मुद्दाको फैसला नगर्नु र ढिलो गरी फैसला गर्नुमा केही फरक हुँदैन ।
निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले निर्वाचन अधिकृत, निर्वाचन आयोगको निर्णयमा समेत चित्त नबुझेर अदालत गएका हुन् । अदालतमा जाँदा, मुद्दा हाल्दा, दिनहुँ धाउँदा उनीहरूको खर्च भयो होला, कष्ट व्यहोर्नुपरेको होला । उनीहरूको परिश्रम विना अर्थ गयो । उसले ‘मसँग प्रतिस्पर्धा गरेको उसैलाई अदालतले जितायो, भैगो’ भनेर चित्त बुझाउन पनि पाएन ।
अब हामीले समस्याको कुरा गरेर मात्रै भएन, समाधान पनि छ भन्न सक्नुपर्यो । न्यायाधीशहरूले मुद्दालाई हेर्ने दृष्टिकोणलाई व्यापक परिवर्तन गर्न आवश्यक छ । नभए यस्ता मुद्दा झनै बढेर जान्छन् । राजनीतिक अस्थिरता र अन्य कारणले न्यायाधीश नियुक्त हुन नसक्दा पनि मुद्दा छिन्न ढिलाइ भइरहेको छ । सर्वोच्च अदालतले गोला प्रक्रिया त सुरु गर्यो, तर चलखेल रोकिएन । अब त्यसतर्फ सुधार गर्नुपर्छ ।
(सर्वोच्च अदालत बार एशोसिएसनले २०६४ सालमा गठन गरेको ‘न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि समिति’ का संयोजक समेत रहेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4