
२९ फागुन, काठमाडौं । नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई बधाईदाताहरुको घन्चमन्चबाट छुट्टी पाउन त कठिनै होला । तर यो पंक्तिकार उनलाई आजको द न्यूयोर्क टाइम्स पढ्न नभ्याए पनि हेर्न सिफारिस गर्छ ।
आज मार्च १३ को न्यूयोर्क टाइम्स चौथो पृष्ठमा दुईवटा अर्थपूर्ण तस्वीर छापिएका छन् । एउटा तस्वीर फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों र बेलायतका प्रधानमन्त्री ऋषि सुनक एउटै छाता ओढेर हिँडिरहेका देखिन्छन् । अर्को तस्वीरमा चीनका राष्ट्रपति सी जिनपिङ र नयाँ प्रधानमन्त्री ली छ्याङ एउटै लहरको डेस्कमा समान तौरले बसिरहेका देखिन्छन् । समकक्षता या बरियताको कुनै विवाद छैन । नत्र त फ्रेन्च राष्ट्रपतिले अर्को देशको प्रधानमन्त्रीसँग कसरी एउटै छातामुनि समेटिनु !
समाचारको अन्तर्यमा नगई केवल दुई तस्वीरको विवेचना गरौं । आजैका दिन नयाँ राष्ट्रपतिका रुपमा पौडेलले काम थालेका बेला यो प्रासंगिक हुन सक्छ ।
गणतन्त्रपछि आएका यसअघिका दुई राष्ट्रपति काफी आलोचित भए– नागरिक सर्वोच्चताका प्रतीक नभई पुरानै शाही ठाँटबाँटका निरन्तरता देखिएको भनेर । इतिहासले यसको उपयुक्त मूल्यांकन गर्ने नै छ ।
शीतल निवासभित्र पस्नेले देख्न सक्छन् । त्यहाँका प्रत्येक क्षणहरुमा नेपाली समाजभित्र सुषुप्त सामन्तवाद प्रकट हुन्छ, हुन्छ ।
आर्थिक र साँस्कृतिक गरिबी, अनि त्यसबाट उत्पन्न लघुताभासले गाँज्दै लगेको देशमा नागरिकको अपेक्षा किञ्चित ठूलो हुँदो रहेनछ । अघिल्लोपल्ट शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा जनताको चाहना थियो : राम्रो गर्ने क्षमता छैन भने पनि ठीकै छ, कम्तीमा गल्ती नगरिदिए पुग्छ । तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलप्रति जनताको उत्रो चाहना देखिँदैन । यत्ति छ – उनको सवारी चल्दा जनतालाई कष्ट नहोस् ।
निवर्तमान राष्ट्रपति विद्या भण्डारी एक महिनाअघि २८ माघमा शीतल निवासबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आउँदा जे जे भयो, त्यसले नागरिकको मनमा आक्रोशमात्रै थप्यो । राष्ट्रपतिजस्तो गणतन्त्रको सर्वोच्च प्रतीकप्रति एक पित्को सम्मान थपेन । सचिवालय र सल्लाहकार मण्डलीले त्यसलाई गणतन्त्रकै आक्रमणसमेत भन्ठाने होलान् । अनि विगतमा राजा पुज्ने बानी परेको वर्गले त्यसलाई स्वभाविकै ठान्यो होला । तर दिनभरि काठमाडौंका मुख्य सडक अवरुद्ध हुँदा, अनि ड्युटीका पुलिसले ड्युटीकै डाक्टरलाई कुट्दा उत्पन्न प्रतिक्रिया एक फेर सम्झौं ।
त्यसैले हुनुपर्छ, अघिल्लो बिहीबार नयाँ राष्ट्रपति पौडेलले बानेश्वरमा पत्रकारसँग भने, ‘अब जाम हुँदैन । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ म देखाउने छु । तपाईंहरुले भिन्नता पाउनुहुनेछ ।’
तिनै पौडेलको सवारी क्रममा भोलिपल्टै सडक खाली गराइयो । उनी पशुपतिनाथ जाँदा होस् या स्वयम्भु या सुन्दरीजल– उही ठाँटबाँट, उही तामझाम । पौडेल अपवाद बन्लान् ? उनका अघिल्तिर हेर्न, बुझ्न, सिक्नलाई टेबुलमा आजको न्युयोर्क टाइम्स छ ।
आम आक्रोशबीच गृहमन्त्रालयले अति विशिष्ट र विशिष्टको सवारीलाई कम सास्तीयुक्त बनाउन कार्यविधि परिमार्जन गर्न तयार भएको छ । अब त्यसले अर्थपूर्ण कार्यान्वयन पाओस् । नत्र सरकारी काम र सरकारी गफ कहिले सुध्रन्न भन्ने आम धारणाले नै निरन्तरता पाउने छ ।
विश्वप्रसिद्ध ओस्कार अवार्डले आफ्नो दसकौंयताको रेड कार्पेट प्रथा तोड्दै सामान्य शैलीमा महोत्सव सकेकै दिन नेपालमा प्रधानमन्त्री प्रचण्डले रातो कार्पेटमा पोज दिँदै हिँडेको तस्वीर राससबाट सार्वजनिक भयो । राष्ट्रपति पौडेलले आफूलाई सादगी जीवनशैलीका पर्याय देखाउँदै आएका छन् । कम्तीमा उनले आफूबाट यो सरलताको राजकीय कार्यान्वयन सुरु गर्न सक्छन् ।
विदेशका राजा, राष्ट्रपति या प्रधानमन्त्री– उनीहरु पनि निश्चित सुरक्षा संवेदनशीलतामै हिँडिरहेका हुन्छन् । पदभार त्यागेपछि त उनीहरु कोही कलेजमा, कोही पसलमा, कोही डकुमेन्ट्री खिच्दै गरेका खबर आउँछन् । नेपालले तिनीहरुबाट केही त सिके हुन्छ । कसो राष्ट्रपतिज्यू ? आफ्नो पालामा केही नयाँ मानक खडा गरेर बिदा हुने होइन र ?
हार्दिक बधाई तथा शुभकामनासहित आजको न्यूयोर्क टाइम्स पृष्ठ चार हेर्न सिफारिस छ ल राष्ट्रपतिज्यू । हेर्नुस् न, कस्तरी आफ्नो छाता आफैं बोकेका म्याक्रों र सुनक । अनि अरुझैं समान सोफामा बसेका सी र ली ।
हामीलाई त छाता ओढाइदिन पनि अर्दली चाहिन्छ । बसेको कुर्सी सारिदिन पनि सहयोगी ।
प्रतिक्रिया 4