
काठमाडौं । यतिबेला प्रियंकारानी जोशीसहितको मिस नेपाल टोली सुर्खेतमा छ । त्यहाँ सोमबार मिस नेपालको आगामी संस्करणका लागि अडिसन आयोजना गरियो । अडिसन सिलसिलामा त्यहाँ पुगेकी मिस नेपाल प्रियंका र मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सीएनएन हिरो म्यागी डोएनसँग भेट गरे ।
डोएनसँग भेट गर्न यी दुई सुन्दरी उनले सञ्चालन गरिरहेको कोपिला भ्याली स्कुलमा पुगे । सन् २०१५ मा सीएनएन हिरो बनेयता विश्वचर्चित बनेकी सामाजिक अभियन्ता डोएन यतिबेला सुर्खेतमा छिन्, जहाँ उनले बालबालिकालाई घर, महिलालाई आश्रय थलो र विद्यालय निर्माण गरेकी छन् । उक्त स्कुलमा ४०० जना विद्यार्थी अध्ययनरत छन् ।
स्कुलमा पुगेकी मिस नेपाल प्रियंकाले आश्रित विद्यार्थीसँग भेट गरिन् र उनीहरुलाई हौसला प्रदान गरिन् । उनीहरुलाई जुस बाँड्दै प्रियंका र सरिशाले प्रेरणादायी मन्तव्य दिए । डोएनलाई दूरदर्शी भन्दै प्रियंकाले स्कुल भ्रमण गर्न पाउँदा सम्मानित महसुस भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत डोएनको कार्यको प्रशंसा गरेकी छन् ।
उनी लेख्छिन्, ‘प्रिय म्यागी, तपाईं स्पष्ट रूपमा मात्र सबैभन्दा मीठो हुनुहुन्छ । महिला र बच्चाहरूलाई सुरक्षित राख्न तपाईंको आत्माले विश्वलाई अझै पनि वास्तविक दया र दयामा विश्वास गर्ने कारण दिन्छ । तपाईंलाई भेटेर मानवताप्रतिको मेरो अथाह विश्वास पुनः जागृत भयो र तपाईंले हाम्रो पश्चिम (सुर्खेत)को विकासको लागि जुन गतिमा काम गरिरहनुभएको छ त्यो साँच्चै उदाहरणीय छ । एक उत्तम दिनको लागि धन्यवाद । थप ढोकाहरू खुलुन् । हामी सुत्नुअघि माइलको यात्रामा निस्कनुपर्छ ।’
मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले सीएनएन हिरोसँगको भेट उत्साहप्रद रहेको बताए । सोमबार सुर्खेतमा गरिएको मिस नेपाल अडिसनमा १२ जना युवतीले अडिसन दिएका थिए । सुर्खेतपछि अब काठमाडौंमा अडिसन गर्ने तयारी छ ।
प्रतिक्रिया 4