
२९ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते मात्रै स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृत रोशन लामिछानेले सोमबार सार्वजनिक गरेको संसोधित निर्वाचन तालिकामा चैत ८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मम मतदान हुने उल्लेख छ ।
त्रिभुवन विश्व विद्यालय र त्यसका आंगिक क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्रिविद्वारा प्रकाशित स्ववियु निर्वाचन तालिका बमोजिम सम्पूर्ण कार्यक्रम हुनुपर्नेमा विशेष कारणबस निर्वाचन तालिकामा संसोधन गर्नुपरेको उनले बताए ।
फागुन ३० गते मनोनयन पत्र वितरण गर्ने, चैत १ गते नामावली दाखिला गर्ने, चैत १ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेगरि निर्वाचन तालिका संसोधन गरिएको छ ।
चैत २ गते उम्मेदवारको विरुद्ध दावी विरोध प्रस्तुत गर्ने र दावी विरोध उपर छानविन गरेर नामावली प्रकाशित गर्ने, चैत ३ गते उम्मेदवारले नाम फिर्ता लिने अन्तिम समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरि तालिका तयार गरिएको छ ।
फागुन २३ गते सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावली त्रुटी देखिएपछि विद्यार्थी संघ संगठन र समूहले विरोध जनाएका थिए । उनीहरुले त्रुटी बारे छानविन हुनुपर्ने माग राखेका थिए ।
यही विषयलाई लिएर केहि उछृङ्खल विद्यार्थीले विद्यार्थी कल्याणको कोठामा आगजनीसमेत गरेका थिए । जसले गर्दा फागुन २५ गते गते अन्तिम मतदाता नामावली प्रकाशित हुन सकेको थिएन ।
मतदाता नामावलीमा देखिएको त्रुटी छानविनका रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । तीन दिनभित्र त्रुटी बारे छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको थियो । विद्यार्थी संगठनहरुबाट छानविनमा असहयोग भएको भन्दै उनले आईतबार राजिनामा दिएका थिए ।
पुनः सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानबिन समितिले नामावलीमा देखिएको समस्या समाधान गरेर सोमबार नै प्रतिवेदन निर्वाचन समितिमा पेश गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले ९ हजार ७ सय जना मतदाताको नामावली क्याम्पसको वेबसाइटमा राखिएको थियो ।
प्रतिक्रिया 4