
काठमाडौं । बालबालिकालाई घरेलु कामदारको रुपमा राख्न नपाइने कानुनी व्यवस्था भएपनि नरोकिएको सरोकारवालाहरुले बताएका छन् ।
समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) र क्ल्यारिसा नेपालको सहकार्यमा सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा घरेलु बालश्रमिकको संख्या ५५ हजार माथि रहेको बताए ।
अनुसन्धानकर्ता रञ्जना शर्माले घरेलु श्रमिक मात्र नभई खाजाघर, डान्सबार, स्पा तथा मसाज सेन्टर, दोहोरी साँझ, रेस्टुरेन्टजस्ता वयस्क मनोरञ्जन स्थलमा समेत बालश्रम अत्यधिक भइरहेको बताइन् । बालबालिका श्रममा होमिंदा कार्य क्षेत्रमा अपहेलित हुने, दुर्व्यवहार हुने घटना निकै देखिएपनि यसको निराकरणमा सम्बन्धित निकाय सक्रिय नभएको उनको भनाइ थियो ।
पत्रकार टेकराज थामीले कानुनमा बालबालिकालाई घरेलु मजदुरमा राख्न नपाइने र श्रममा संलग्न गराउनुअघि रोजगारदाताले कानुनले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भएपनि हालसम्म कार्यान्वयन हुन नसक्नु दुःखद् रहेको बताए ।
नेपाल श्रमशक्ति सर्वक्षण-२०१८ अनुसार नेपालमा पाँच हजार ३२७ जना बालबालिका बाध्यकारी श्रममा आबद्व भएको उल्लेख छ । तीमध्ये कृषिमा ४४ प्रतिशत, मनोरञ्जन क्षेत्रमा ४२ प्रतिशत, निर्माण क्षेत्रमा १६ प्रतिशत र वैदेशिक रोजगारमा २-६ प्रतिशत रहेको कार्यक्रममा जानकारी दिइयो ।
प्रतिक्रिया 4