
३० फागुन, काठमाडौं । स्ववियु निर्वाचनका लागि उम्मेदवार छनोट र विभिन्न जिल्लामा गरिएको मनोनयनप्रति असन्तुष्ट नेविसंघका नेताहरुले त्यस्ता कार्य सच्याउन माग गरेका छन् । असन्तुष्ट समूहका नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाबाट एकलौटी ढंगले भएका निर्णय एक हप्ताभित्र सच्याउन माग गरेको हो ।
अध्यक्ष शेर्पाले हालै काठमाडौं जिल्ला अध्यक्षमा मनोज डंगोललाई मनोनित गरेका थिए । विरोधमा उत्रिएका नेविसंघ काठमाडौं जिल्ला सचिव उज्ज्वल बज्राचार्यले, अध्यक्ष शेर्पाले अपारदर्शी र गैरन्यायिक ढंगले स्ववियु निर्वाचनको टिकट वितरण गरेको र जिल्लामा चिठी आतंक फैलाएको आरोप लगाए । ‘केन्द्रीय अध्यक्षले जसरी पत्र वितरण गरेका छन् । हामी त्यसको देशभरबाट विरोध गर्छौं,’ उनले भने, ‘हाम्रा माग पूरा नभए रिले अनसन र आमरण अनसन बस्छौं ।’
नेविसंघका अर्का नेता जोनिस क्षेत्रीले, केन्द्रीय अध्यक्ष शेर्पाले एकलौटी र मनोमानी ढंगले निर्णय गरेर नेविसंघका इमान्दार नेताहरुमाथि अन्याय गरेको आरोप लगाए । काठमाडौंलगायत विभिन्न जिल्लामा वितरण गरिएको पत्र खारेज नभए अनसनदेखि जुनसुकै हदसम्मको आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी नेताहरुले नै लिनुपर्ने चेतावनी उनले दिए ।
पत्रकार सम्मेलनमा नेविसंघ काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाही, नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बविन गुरुङ, अमन भुसाल लगायतले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघभित्रका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको आरोप लगाए ।
पछिल्लो समय नेता प्रकाशमान सिंह निकटका विद्यार्थीहरु अध्यक्ष शेर्पाको विरोधमा उत्रिएका छन् । अध्यक्ष शेर्पाको कार्यशैलीको विरोध गर्दै उनीहरुले नेविसंघ केन्द्रीय कार्यलय र काठमाडौं कांग्रेस कार्यालयमा तालाबन्दी गरेका छन् । साथै कांग्रेसकै विभिन्न जिल्लाका नेताहरुले पनि अध्यक्ष शेर्पाको विरोध गर्दै पार्टी कार्यालय र शीर्ष नेतृत्वलाई पत्राचार गरेका थिए ।
प्रतिक्रिया 4