
३० फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कुमार अग्रवाल पटवारी निर्वाचित भएका छन् ।
प्रथम उपाध्यक्षमा हरि प्रसाद गौतम (उद्योग), द्वितीय उपाध्यक्षमा माधव राजपाल (वाणिज्य) चयन भएका छन् । महासचिवमा आशिष कुमार लाठ, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार, सचिवमा सुशान्त चाचान (उद्योग) र प्रेमचन्द्र गोयल (वाणिज्य) चुनिएका छन् ।
त्यसैगरि सह–कोषाध्यक्षमा अनोज रुंगटा, सहसचिवमा निरज अग्रवाल (उद्योग) र नरेश कुमार अग्रवाल टिबडेवाल (वाणिज्य) लाई चयन गरिएको छ । सबै पदाधिकारी सर्वसम्मतिले चयन भएका हुन् । यसअघि निर्वाचनबाट चयन हुनुपर्ने ३५ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मतिले चयन भएका थिए ।
पदाधिकारीमा आवश्यक सिटमा मात्र उम्मेदवारी परेपछि सर्वसम्मतले चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिए । मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म पदाधिकारी पदको मनोनयन दर्ताको समय राखिएको थियो ।
पदाधिकारीको नामावली प्रकाशन दिउँसो २:३० बजे र दाबी विरोधको समय २:४५ बजेसम्म तोकिएको थियो । तोकिएको समयभित्रमा एक जना उपाध्यक्ष पदमा मात्र दुईजनाले मनोनयन दर्ता गराएका थिए ।
द्वितीय उपाध्यक्षमा माधव राजपाल र अरविन्द अमात्यको उम्मेदवारी परेको थियो । दुवैजनालाई राखेर छलफल गरेपछि अमात्यले मनोनयन फिर्ता लिएका थिए । त्यसपछि निर्वाचनबाट आउने सबै पदाधिकारी निर्विरोध चयन भएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रतिक्रिया 4