
३० फागुन, पोखरा । तिब्बत र चीनमा तीन चैत्य, नौ महाविहार, दुई मन्दिर र तावो मतको एउटा राजप्रासाद निर्माण गरेका अरनिको चीनमा प्रख्यात छन् । तर नेपालमा भने उनको मूल्यांकन र सम्मान हुन नसकेको चिन्ता कलामप्रेमीले गरेका छन् ।
राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै तिब्बत पुगेका अरनिकोले १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरेर नेपालको कला कौशललाई विस्तार गरे । चीनमा अहिले पनि उनले निर्माण गरेका मूर्ति र वास्तुकलालाई गौरव मानिरहेका बेला नेपालले भने अरनिकोलाई चिन्नै नसकेको पर्वतमा भएको कार्यक्रमका वक्ताले बताएका छन् ।
अरनिको निधन भएको दिन पारेर कुश्मा कला परियोजनाले मार्च ११ तारिखका दिन पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोको सम्झना गरेको छ । पर्वते स्रष्टा गणेशकुमार जिसीद्वारा लिखित ‘अरनिको एशियाः एक प्रस्तावना’ पुस्तकको चर्चा गर्दै स्रष्टाहरुले नेपालले राष्ट्रिय विभूति अरनिकोलाई चिन्नै नसकेकोमा चिन्ता व्यक्त गरे ।
तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन नसकेको उनीहरुको गुनासो छ । १२ औँ शताब्दीमा एशिया महादेशमा कलाकृतिका क्षेत्रमा योगदान गर्न सक्ने विभूति अरनिको बौद्ध धर्मका गौतम बुद्धजस्तै एसियाको तारा रहेको कुश्मा कलाका परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले कार्यक्रममा चर्चा गरे । जिसीको पुस्तक कलाकार अरनिकोलाई चिन्ने र नेपालको भूमि, सभ्यता, हिमाली संस्कृति र कलाको सभ्यता विश्वव्यापी रुपमा चियाउने एउटा आँखीझ्याल’ भएको उनको तर्क छ ।
‘करीब ७०० वर्षअघि विभिन्न धातुमा रसायनको प्रयोग गर्न सकिने अवस्थाले देशको प्राविधिक, कूटनीतिक, व्यापारिक अवस्थालाई आङ्कलन गर्न सकिन्छ, तत्कालीन समयमा तामा, पित्तल, काँचलगायत धातु बनाउन सक्ने पूर्वजका सीपलाई अनुसन्धान गर्नुपर्छ’, गिरीले भने, ‘अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ, त्यसका लागि राज्यले पहिले कलाकार अरनिकोलाई चिन्नुपर्छ । तब मात्र हामीले अरनिकोलाई विमर्श गर्नुको अर्थ छ ।’
अरनिको कला निर्माणका शैलीबारे जानकार भएका चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास रोचक रहेको अर्का वक्ता ईन्द्रमान खत्रीले बताए । उनले भने, ‘यो नेपाली कलाको अन्तर्राष्ट्रिय परिचय र प्रसार हो । अरनिको नेपालको खास शान हुन । मानक नाम हुन् ।’
ज्योतिष विज्ञानसमेत जानेका अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मंगेलियालगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेको उनको भनाइ छ ।
अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । अरनिकोको काम पछ्याउँदै जाँदा उनी त विश्व स्तरको कलाकार लागेर नै आफूले अरनिकोलाई आफ्नो खोज अन्वेषणको पात्र बनाएको कृतिका रचयिता गणेशकुमार जिसीले बताए ।
त्यस्तै अर्का वक्ता मुकेशचन्द्र भण्डारीले नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्ध विस्तार गर्न अरनिको भूमिका अहंम र ऐतिहासिक भएको र नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्ति रुपमा घोषणा गरेको चर्चा गरे ।
शताब्दी घरमा आयोजित कार्यक्रमलाई अबका हरेक वर्ष उनको जन्म र स्मृति दिवसलाई भव्य रुपमा मनाउने र शताब्दी घरको परिसरमा कलाकार अरनिकोको शालिक र उनीद्वारा निर्मित स्वेतचैत्यको स्थापना गरिने कार्यक्रम आयोजक संस्था कुश्मा कला परियोजनाले बताएको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो ।
प्रतिक्रिया 4