+
+

शरीरको कार्यक्षमता बढाउने मेटाबोलिज्म के हो ?

आरेम कार्की, पोषणविद्  आरेम कार्की, पोषणविद् 
२०७९ चैत २ गते ७:००

साधारण भाषामा भन्दा हामीले खाएको खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया नै मेटाबोलिज्म हो । खाएको खानालाई टुक्राउने र त्यसलाई नयाँ ऊर्जामा परिणत गर्ने काम पनि मेटाबोलिज्मले नै गर्छ ।

अहिले तौल नियन्त्रणको विषयमा मेटाबोलिज्म लोकप्रिय छ । किनकि शरीरमा बढी मेटाबोलिज्म भयो भने तौल नियन्त्रण हुन्छ । मुटु चौबीसै घण्टा चलिरहेको छ, मिर्गौलाले फिल्टर गरिरहेको छ, कलेजोले आफ्नो काम गरिरहेको छ, अनि शरीरले ऊर्जालाई २४ घण्टा प्रयोग गरिरहेको हुन्छ । त्यसको लागि त ऊर्जा चाहियो । त्यसैले शरीरको कार्यक्षमता बढाउन मेटाबोलिज्म महत्त्वपूर्ण छ । यदि मेटाबोलिज्म रेट आवश्यकता भन्दा कम हुँदै गयो भने मानव शरीरमा दुर्बलता वा मोटोपन बढ्छ ।

यसले पाचनमा कसरी काम गर्छ ?

हामीले खाना मुखमा हालेदेखि नै पाचन प्रक्रिया सुरु हुन्छ । दाँतले खानालाई चपाएर सानो सानो टुक्रा बनाउँछ, थुकबाट ‘इन्जाइम’हरू निस्कन्छ । त्यसले खानालाई नरम बनाएर निल्न सजिलो बनाउँछ । पेटमा गएपछि एसिडले फेरि त्यो खानालाई पचाउन सहयोग गर्छ । त्यसपछि हामीले खाएको खानालाई ग्लुकोजमा परिणत गरेर रगतमा मिसाउन शरीरलाई ऊर्जा चाहिन्छ  र त्यो ऊर्जा मेटाबोलिज्मबाट मार्फत प्राप्त हुन्छ ।

मेटाबोलिज्म क्षमता कसरी बढाउने ?

शीररमा मेटाबोलिज्म क्षमता बढाउन सन्तुलित, स्वस्थ र सुपाच्य खानेकुरा खानुपर्छ, दैनिक ताजा फल र जुस सेवन गर्नुपर्छ । साथै नियमित व्यायाम गर्ने, दिनभर शारीरिक रूपले पनि सक्रिय हुने, मोटोपन नियन्त्रण गर्ने र पर्याप्त निदाउनु पनि मोटाबोलिज्म क्षमता बढाउने तरिका हो ।

कस्तो खानेकुराले मेटाबोलिज्म सक्रिय गराउँछ ?

शरीरमा मेटाबोलिज्म सक्रिय गराउन प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । दूध, दही, चीज, पनिर र अन्य दुग्धजन्य पदार्थसँगै अण्डा, मासु, माछा, समुन्द्री खाना र मासुले मेटाबोलिज्म बढाउँछ । प्रोटिनले बोसोलाई मांसपेशीमा परिणत गरेर बलियो बनाउँछ, त्यसैले यसले तौल पनि नियन्त्रणमा राख्छ । साथै हरियो सागसब्जी, फलफूल, दाल, गेडागुडी, ड्राइफ्रुट्स लगायतका खानाले पनि मेटाबोलिज्म सक्रिय गराउँछ ।

कस्तो आनीबानीले मेटाबोलिज्म क्षमता कमजोर हुन्छ ?

बालबालिका तथा युवाहरूमा मेटाबोलिज्म क्षमता बढी हुन्छ । उमेर बढ्दै जाँदा मेटाबोलिज्म क्षमता कमजोर हुँदै जान्छ । थाइराइड हार्मोनको काम हाम्रो शरीरमा मेटाबोलिज्म क्षमता कमजोर बनाउने कि सक्रिय बनाउने भन्ने हो । जब शरीरमा थाइराइड हार्मोनको कमी हुन्छ मेटाबोलिज्म क्षमता कमजोर हुन्छ र शरीरका अंगहरूलाई काम गर्न चाहिने ऊर्जा उत्पादन हुँदैन । जसले गर्दा मोटोपन बढ्ने, कोलेस्टेरोल बढ्ने, मुटुको समस्या र  मिर्गौलाको समस्या लगायत समस्या निम्तिन्छ ।

शरीरमा सुगर लेभल बढी छ, प्रेसर बढी छ, कोलेस्टेरोल बढी छ भने त्यसलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । यस्तो मेटाबोलिक सिनड्रोमले मेटाबोलिज्म क्षमता कमजोर हुन्छ र मेटाबोलिज्म क्षमता कमजोर भयो भने सुगर, प्रेसर बढेर मधुमेह उच्च रक्तचाप हुने भयो । त्यसैले यो एउटा चक्र जस्तो भयो ।

मेटाबोलिज्म राम्रो नहुँदा कस्तो समस्या हुन सक्छ ?

मेटाबोलिज्म क्षमता राम्रो नहुँदा छिटो थकान महसुस हुने, कोलेस्टेरोलको समस्या हुने, मांसपेशी कमजोर हुने, तौल छिट्टै बढ्ने लगायत समस्या हुन्छ । मोटोपन बढेर मधुमेह, उच्च रक्तचाप, थाइराइड र मुटुको समस्या लगायत समस्या पनि हुन सक्छ ।

मेटाबोलिज्म बढाउने कुनै प्राकृतिक विधि हुन्छ ?

प्राकृतिक रूपमा मेटाबोलिज्म क्षमता बढाउन प्रशस्त मात्रामा प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । दिनभर शारीरिक रूपले सक्रिय पनि हुनुपर्छ । साथै  मोटोपना नियन्त्रण, सन्तुलित स्वास्थ्य र सुपाच्य खानेकुराको सेवन, प्रशस्त मात्रामा पानी पिउने र नियमित व्यायाम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?