
१ चैत, गैंडाकोट । नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तबाट लिएको ऋण ऋणीले सदुपयोग गर्न नजान्दा अहिले समस्या आएको बताएका छन् ।
नवलपुरको गैंडाकोटमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले लघुवित्तले सहजरुपमा गाउँमा नै पुगेर ऋण लगानी गरेपनि लघुवित्तका सदस्यले ऋणको सदुपयोग गर्न नजानेको बताए । लघुवित्तले नियम विपरीतका कार्य गरे नेपाल राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनले आग्रह गरे ।
‘कोभिड–१९, वर्तमान आर्थिक मन्दीले पनि समस्या देखियो,’ उनले भने, ‘सदस्यलाई ऋण तिर्न सहज गराउन केही समय दिन सकिने तर त्यसका लागि राष्ट्र बैंकले अनुमति दिनुपर्छ ।’
लघुवित्त वित्तीय संस्थाहरुले बढी ब्याज लिएको भन्ने कुरा सत्य नभएको उनले बताए । उनले भने, ‘अहिले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएका छौं त्यो भन्दा बढी लिएको भए लघुवित्त बैंकर्स संघमा उजुरी गर्न सकिन्छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले महिलाको व्यक्तित्व विकासका लागि लघुवित्तको ठूलो योगदान रहेको बताए । गलत ढंगले जनता परिचालन गर्दा ठूलो क्षति व्यहोर्नुपर्ने उनले बताए । उनले ऋण कहिल्यै मिनाहा नहुने भएकाले आफवाहमा नलाग्न आग्रह गरे ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आवश्यक ऋण लिने र समयमा तिर्ने गर्दा समस्या नआउने बताए । लागानीकर्तालाई समेत उनले मर्यादित र व्यवस्थित रुपमा लगानी गर्न आग्रह गर्दै सदस्यलाई सक्षम बनाउन संस्थाले ध्यान दिनुपर्ने बताए ।
नगर उपप्रमुख शान्ति कोइरालाले लघुवित्तमा महिला बढी आवद्ध रहेको जनाउँदै उनीहरुको आर्थिक, राजनीतिक एवं सामाजिक स्तर माथि उकास्न एवं सशक्तिकरणका लागि लघुवित्त सारथी बनेको बताइन् । सदस्यलाई ऋणीको रुपमा नभई परिवारको सदस्यका रुपमा हेर्न वित्तीय संस्थालाई उनले आग्रह गरिन् ।
गैंडाकोट नगरपालिका क्षेत्रमा कार्यरत १३ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले भृकुटीचोकदेखी कार्यक्रमस्थल फेम्ली क्याफेसम्म र्याली समेत निकालेका थिए ।
प्रतिक्रिया 4